२०८२ पुष २९ गते मङ्गलवार

बाढीले मसोट खोलाको डाइभर्सन बगायपछि लमही–घोराही सडकखण्ड अवरुद्ध

दाङ । दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको डाइभर्सन बाढीले बगाएको छ । आज शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएको हो ।

डाइभर्सनको आधा भाग बाढीले बगाएपछि लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

घोराही–लमही आउ–जाउ गर्ने मसोट खोला पुलबाट विरामी बोकेको एम्बुलेन्स, इमर्जेन्सीमा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे खाली सवारीसाधन मात्रै पुलबाट आवतजावत गर्न दिइएको डिएसपी शाहले बताउनुभयो । ठुला सवारी साधनहरुलाई अमिलिया, तुलसीपुर हुँदै गन्तव्यतर्फ पठाइएको छ । डाइभर्सन मर्मतको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि आकस्मिक रूपमा मसोट खोलाको पुल मर्मत गर्नुपर्ने भन्दै २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय स्थानीय प्रशासनले गरेको थियो । पुलबाट ठूला गाडीहरुको आउजाउ बन्द गरिए पनि अत्यावश्यक सेवाका सवारी साधन सन्चालनका लागि भन्दै डाइभर्सन बनाएर विहीबार दिउँसोदेखि सन्चालनमा ल्याइएको थियो । सोही डाइभर्सन आज शुक्रबार बिहान बाढीले बगाएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस