२०८२ माघ ८ गते बिहिवार

हाम्रो पहुँच माविका शिक्षकलाई सिप विकास तालिम


दाङ । तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कूलका शिक्षकका लागि ‘फ्याक्युलिटी प्रोफेसनल डेभलभमेन्ट टे्रनिङ’ संचालन गरिएको छ । शिक्षकमा अध्यापन शैलिको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने तालिमको बुधबार औपचारिक उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले शिक्षकको व्यावसायिक दक्षता र अध्यापन शैली सुधार नगरी विद्यार्थीको शैक्षिक स्तर उकास्न नसकिने बताउनुभयो ।

उहाँले विद्यालयमा प्रयोगात्मक शिक्षण, विद्यार्थीको सहभागिता, सिर्जनात्मक सोचको विकास र स्थानीय सन्दर्भलाई समेट्ने अध्यापन पद्धतिहरूको आवश्यकता औंल्याउनुभयो ।

तालिमका प्रशिक्षक राप्ती बबई क्याम्पसका उपप्राध्यापक सुर्यप्रसाद शर्माले गुणस्तरीय शिक्षाको आधार नै दक्ष शिक्षक भएको भन्दै शिक्षकले नवीनतम शिक्षण प्रविधि अपनाउने, विषयवस्तु बुझाएर सिकाउने, सिकाइको वातावरण सिर्जना गर्ने, विद्यार्थीको क्षमता अनुसार पठन–पाठनको गति मिलाउने जस्ता विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले तालिमले शिक्षकहरूलाई आफ्नो कार्यशैली पुनःमूल्यांकन गर्न र सुधार गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार बुधबार र बिहीबार तालिम संचालन गरिएको छ भने अर्को थप एक दिन पनि तालिम संचालन हुनेछ । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस