दाङ । “विदेश जान करोडौं खर्च गर्न सक्छौं, तर नेपालमै लगानी गर्ने आँट किन छैन ?”–यो प्रश्न मंगलबार तुलसीपुरमा आयोजित ‘युवा र उद्यमशीलता’ विषयक बहसमा बारम्बार दोहोरियो।
२६औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नगरस्तरीय युवा सञ्जालले आयोजना गरेको युवा र उद्यमशीलता विषयक वहस कार्यक्रममा युवा उद्यमी, व्यवसायी र विद्यार्थीहरूले विदेश पलायनको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै, स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने धारणा राखे।

युवा उद्यमशीलताको अवस्था उत्साहजनक–पाण्डे
कार्यक्रमका प्रमुख वक्ता तथा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डेले युवा उद्यमशीलताको अवस्था उत्साहजनक रहेको बताउनुभयो। पाण्डेले बेरोजगारी अन्त्य र आर्थिक संकट समाधानको प्रमुख उपाय नै उद्यमशीलता रहेको बताउनुभयो । आफू १२ वर्षको उमेरदेखि नै उद्यमशीलतासँग जोडिएकाले कुनै पनि काम गर्न उमेर नभई सोच परिवर्तन हुनुपर्ने बताउनुभयो।
पाण्डेले २०५४ सालमा पहिलोपटक २४ वर्षकै उमेरमा तत्कालीन तुलसीपुर नगरपालिकाको उपमेयर र २०७४ मा उपमहानगरपालिकाको मेयर निर्वाचित भएको स्मरण गर्दै, हालसम्म आफ्नो कार्यकालमा दाङमा २ हजार ५ सय बढी व्यक्तिहरुलाई विभिन्न तालिम दिई उद्यमशीलताको बाटोमा अग्रसर बनाएको दाबी गर्नुभयो।“नेपालमा सम्भावना छैन भन्ने होइन,”–पाण्डेले भन्नुभयो, “बितेको आर्थिक वर्षमा मात्र १८ खरब रुपैयाँको वस्तु विदेशबाट नेपाल आयात हुँदा टमाटर, आँप,कागतीजस्ता वस्तुमा मात्रै १ खरबभन्दा बढी रकम बाहिरिएको छ।”
पछिल्लो तथ्याङ्क अनुसार वितेको वर्षमा १ लाख मानिस विदेश जाँदा ४ लाख मानिस स्वदेश फर्किएका छन्। तर फर्किएकाहरू श्रम गर्न थालेपनि, त्यसको परिणाम आउन केहीले समय लाग्ने बताउनुभयो। हाल नेपालमा भारतसहितका मुलुकका साढे ७ लाख विदेशी काम गरिरहेका छन्, जसबाट वार्षिक १० खरबभन्दा बढी रकम बाहिरिन्छ।
पाण्डेले भन्नुभयो –“जुन देशका नागरिकले सबैभन्दा धेरै जागिर सिर्जना गर्ने गरी काम गर्छ, त्यो देश नै धनी हुन्छ,”।
रोजगारीका लागि विदेश जाँदा फुलमालासहित विदाई गर्न पुग्ने, तर विदेशमा सिकेको श्रम र सीपको उर्जा लिएर स्वदेश फर्किँदा लिन एयरपोर्ट सम्म नपुग्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको प्रति विडम्बना भएको बताउनुभयो ।
स्वरोजगारका लागि इन्क्युबेसन सेन्टर–ओली
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक माधव ओलीले युवालाई विदेश पलायनबाट रोक्न, स्वरोजगारमूलक कार्यक्रमअन्तर्गत कम्तीमा १ हजार युवालाई रोक्ने लक्ष्यसहित इन्क्युबेसन सेन्टर स्थापना गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सेन्टरमार्फत व्यवसायिक योजना निर्माण, वित्तीय साक्षरता, अवसर र चुनौतीबारे नीति निर्माण तहमा काम भइरहेको जानकारी दिनुभयो । विद्यालय तहमा व्यवसाय साक्षरताका कार्यक्रम, उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने सन्दर्भमा सहजिकरण , र आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा पैरवीका कार्य भइरहेको बताउनुभयो।
“पढ्दै कमाउँदै” नीतिअनुसार तुलसीपुर मेट्रो कलेज सञ्चालनमा ल्याएको बताउँदै स्थानीय पाठ्यक्रममा उद्यमशीलता विषयमा जोड दिने योजना बनाइएको पनि जानकारी दिनुभयो। तर श्रम बिना सुख खोज्ने परिपाटीका कारण लाखौं युवाहरू बेरोजगार रहेको धारणा राख्नुभयो ।
यातायात क्षेत्रमा ८० प्रतिशत युवा–हमाल
नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका केन्द्रीय सल्लाहकार सुरेश हमालले यातायात क्षेत्रमा ८० प्रतिशत युवाको संलग्नता रहेको जानकारी दिनुभयो । युवाहरुको आर्कषण बढेपनि यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समाज र राज्यले नै विभेद गर्ने गरेको आरोप लगाउनुभयो । हमालले भन्नुभयो– “करोडौं लगानी गरेर युवाहारु योे क्षेत्रमा प्रवेश गर्छन,तर उनिहरुलाई गाडीवालाको संज्ञा दिइन्छ । निजि क्षेत्रबाट स्वदेशमै उद्यमी बनेर स्वरोजगार सिर्जना गर्ने लक्ष्य राखेका छन तर ‘अशिक्षित’ भन्ने आरोप लगाइन्छ यो प्रवृत्ति नै दुर्भाग्यपूर्ण छ । दूध बेचेर आमाबाबुले कमाएको पैसाले पेट्रोल हालेर कफी हाउसमा बस्ने, तर बाबुआमाको पेशालाई सहयोग नगर्ने सोचपनि बदलिनुपर्छ । ”
महिला र पुरुष समानता कायम गर्न पहिलोपटक यातायात क्षेत्रमा महिला परिचालिकाको व्यवस्थासमेत गरिएको जानकारी दिनुभयो ।
०% पूँजीमा पनि उद्यम सुरु सम्भव –केसी
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष युवा उद्यमी विनिल केसीले नेपालमै पर्याप्त अवसर रहेको उल्लेख गर्दै, ०% पूँजीमा पनि उद्यम सुरु गर्न सकिने बताउनुभयो । उहाँका अनुसार उद्यमशीलता भनेको व्यापार मात्र नभई स्वरोजगार सिर्जना,सामाजिक सेवा, र देशको आर्थिक विकासमा योगदान पुर्याउने काम हो । उहाँले भन्नुभयो– “भारतवाट समान ल्याएर बेच्नुमात्र उद्यमशीलता नभई उद्यम गरेर स्वरोजगार सिर्जना गर्ने कायपनि उद्यमशीलता हो । ”
विकसित मुलुकहरू जस्तै नेपालमा पनि उद्यमशीलताको विश्वविद्यालय नै आवश्यक रहेको भएपनि त्यसो हुन नसक्दा समस्या रहेको बताउनुभयो । स्वदेशमै उद्यमशीलताका लागि सोचमा परिवर्तन अझै आउन नसकेको टिप्पणी गर्नुभयो । विदेश जाँदा करोडौं लगानी गर्न सक्ने तर नेपालमा सम्भावना नदेख्ने परिपाटीको अन्त्य नहुँदासम्म उद्यमशीलताको विकास हुन नसक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक सूर्यप्रसाद शर्मा, नेकपा एमाले सल्यानका उपसचिव गणेशमान सिंह, विद्याथीहरु के.बी. ओली, शिक्षा विश्वकर्मा, सिर्जना खड्का, सन्दीप आचार्य, मुना विश्वकर्मा लगायतले स्वदेशमै लगानी गर्न परिवारले विश्वास नगर्ने र साथीभाइको आलोचना प्रमुख चुनौतीका रुपमा रहेको बताएका थिए । विदेश जाँदा एयरपोर्टमै पुगेर बधाई दिने, तर स्वदेशमै उद्यम गरिरहेका व्यक्तिलाई प्रोत्साहन नगर्ने प्रवृत्ति बढदा यस्तो समस्या देखिएको बताएका छन ।

नगर युवा सञ्जाल तुलसीपुरका अध्यक्ष ओतबहादुर भण्डारी(गणेशको) विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले गर्नुभएको थियो ।














