२०८२ फाल्गुन २९ गते शुक्रवार

विदेशमा स्थायीरुपमै बस्न थालेपछि दाङका ४२ जनाले त्यागे नेपाली नागरिकता

दाङ । रोजगारी वा अध्ययनका लागि विदेश गएका कतिपय नेपालीले नागरिकता नै त्याग गर्न थालेका छन् । पछिल्लो समय विषेशगरी अमेरिका, अस्ट्रेलिया, युरोपियन मुलुक जाने र स्थायी रुपमा बसोबास गर्न थालेपछि नेपाली नागरिकता त्याग्ने गरेको पाइएको हो ।

दाङका ४२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार दुई वर्षको अवधिमा ४२ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।

विदेशमा स्थायी रुपमा बसोवास गर्ने नेपालीहरुले नागरिकता परित्याग गर्ने गरेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ३० जनाले नेपाली नागरिकता परित्याग गरेका थिए भने गत आर्थिक वर्ष २०८१/०८२ मा १२ जनाले नेपाली नागरिकता परित्याग गरेको तथ्याङकले देखाएको छ ।

स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरु नेपाली नागरिकता परित्याग गर्ने गरेको कार्यालयका प्रशासकिय अधिकृत विजय गौतमले बताउनुभयो ।
परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नेपाली नागरिकता त्याग्ने गरेको उहाँको भनाई छ ।

विदेशमा स्थायी रुपमा बसोबास गर्ने नेपालीले गैरआवासीय नेपाली नागरिकता लिन पाउने व्यवस्था भएपछि नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको छ । रोजगारी, अध्ययनसँगै वैवाहिक सम्बन्धलगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विदेशको नागरिकता लिनका लागि नेपाली नागरिकता त्याग गर्नुपर्ने भएकाले पनि धेरैले नेपाली नागरिकता त्याग गर्न थालेको उहाँले बताउनुभयो । लामो समयदेखि वैदेशिक रोजगारमा रहेका साथै डिभी परेका तथा पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसोबास गरेका नेपालीहरुले नेपाली नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ ।

यसैबिच नेपाली नागरिकता त्यागेका १२ जनाले गैर आवासिय नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा १२ जनालाई गैरआवासिय नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस