दाङ, ३ भदौ । दाङमा साउन महिनामा मात्रै एक हजार ६ सय बढीले राहदानी (पासपोर्ट) बनाएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै एक हजार ६९० जनाले पासपोर्ट बनाएका हुन् ।
कार्यालयका अनुसार इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ७५०, लमहीबाट ३९० र जिल्ला प्रशासन कार्यालय घोराहीबाट ६३० जनाले पासपोर्ट बनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाका अनुसार साउन महिनामा एक हजार ३७६ जनालाई नागरिकता वितरण गरिएको छ ।
ति मध्ये इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ५२३, लमहीबाट ४०५ र जिल्ला प्रशासन कार्यालय घोराहीबाट ४४८ गरी एक हजार ३७६ जनाले नागरिकता लिएका हुन् । साउनमा २ जनाले नेपाली नागरिकता त्यागेको कार्यालयले जनाएको छ ।
यस्तै कार्यालयले एक महिनाको अवधिमा ७०७ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि ६ हजार ९६४ जनाले नाम दर्ता गराएको कार्यालयले जनाएको छ । कार्यालयले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रसहितका विभिन्न सेवा प्रवाह गदै आएको छ ।












