
रेडियो हाम्रो पहुँच ८९ मेगाहर्ज आजदेखि १६ औँ वर्षमा प्रवेश गरेको छ । आजबाट १५ वर्ष पूरा गरेर १६ औँ वर्षमा प्रवेश गरिरहँदा रेडियोका लागि यो यात्रा केवल समय गणनाको मात्र होइन, संघर्ष, अवसर, चुनौती र सफलताको ऐतिहासिक साक्षी पनि हो ।
‘हामी केहि गरौँ’ भन्ने उद्देश्यका साथ स्थापना भएको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको रेडियो हाम्रो पहुँचले आजभन्दा १६ वर्षअघि अर्थात २०६७ साल भदौ ५ गतेबाट प्रशारणयात्रा आरम्भ गरेको थियो । दाङको तुलसीपुरलाई केन्द्र बनाएर प्रशारण हुँदै आएको रेडियो हाम्रो पहुँच लुम्बिनी प्रदेशदेखि कर्णाली प्रदेशसम्मका नागरिकका भावना, आकांक्षा र संघर्षलाई बोकेको छ ।
सहकारीमार्फत आर्थिक समृद्धि सम्भव छ भन्ने विश्वासलाई सफल उदाहरणसहित उजागर गर्दै सहकारीमार्फत जीवनमा परिवर्तन ल्याउन सफल भएका नागरिककै आवाज बनेको छ—रेडियो हाम्रो पहुँच ।
विगत १५ वर्षको यात्रामा रेडियोले आवाजविहीनलाई आवाज दिएको छ । टाढालाई नजिक्याएको छ । जानकारी, शिक्षा र चेतना घर–घर पुर्याएको छ । त्यसैले पनि रेडियो हाम्रो पहुँच समाचार वा मनोरञ्जनको माध्यम मात्र होइन, समुदायकै साझा धड्कन बनेको छ । महिला, दलित, आदिवासी, बालबालिका, युवा र किसानका मुद्दा निरन्तर उठाउँदै आएको रेडियो हाम्रो पहुँचले विकास र परिवर्तनको दिशामा समाजलाई प्रेरित गरिरहेको छ ।
तर १६ औँ वर्षको प्रवेशसँगै जिम्मेवारी अझ बढेको छ । डिजिटल प्रतिस्पर्धाको युगमा नयाँ पुस्तालाई आकर्षित गर्नु विश्वसनीयतामा कहिल्यै सम्झौता नगर्नु, समुदायलाई अझ सशक्त पार्नु—यी नै अबको चुनौती हुन् ।
हामीलाई थाहा छ—हामी केवल सूचना प्रवाहको माध्यम होइनौँ, परिवर्तनको शक्ति पनि हौँ । यही विश्वासका साथ, रेडियो हाम्रो पहुँच अझ सबल, अझ जीवन्त र अझ प्रभावशाली हुँदै समुदायको आवाजलाई उजागर गर्ने संकल्पसहित अघि बढ्नेछ ।
तसर्थ हाम्रो यात्रामा तपाईको साथको अपेक्षासहित १६ औँ वर्ष प्रवेशको अवसरमा हामी सम्पूर्ण श्रोता, विज्ञापनदाता, शेयर सदस्य, सहकारी संचालक समिति, शुभेच्छुक र साझेदार रेडियो स्टेशन रेडियो सुर्यमूखी होलेरी र रेडियो माडी आवाजलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।