२०८२ माघ ५ गते सोमवार

रोल्पामा अरिंगालको टोकाइबाट एक बालकको मृत्यु

रोल्पा, ६ भदौ । रोल्पामा अरिंगालको टोकाइबाट एक बालकको मृत्यु भएको छ भने छ जना बिरामी भएका छन् । बिहिबार दिउँसो विद्यालयबाट घर फर्कने क्रममा त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङका सात जना बालबालिकालाई अरिंगालले टोकेको हो ।

अरिंगालको टोकाईबाट गम्भिर बिरामी भएका त्रिवेणी–७ गाङका भाइरती परियारका ७ वर्षिय छोरा मोहन परियारको आज बिहान १ बजेतिर निधन भएको बिरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक बरमान बुढामगरले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो । बालकको स्थानीय मेडिकलमा उपचारको क्रममा निधन भएको हो ।

अरिंगालको टोकाइबाट गम्भिर बिरामी भएका पाँच जनालाई आज बिहान दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको प्रधानाध्यापक बुढामगरले जानकारी दिनुभयो । उनिहरु सबै बिरेन्द्र मावि गैरीगाउँमा अध्ययनरत विद्यार्थी हुन् भने एकै गाउँका विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

प्रधानाध्यापक बुढाका अनुसार कक्षा १० मा अध्ययनरत सुनिता परियार, कक्षा ५ मा पढ्ने शंकर परियार , कक्षा ४ मा पढ्ने मनिषा परियार, केजीमा पढ्ने कमल परियार र शिशु कक्षामा बढ्ने आशिष परियार गम्भिर बिरामी परेको र बिहिबार स्थानीय मेडिकलमा सामान्य उपचारपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रधानाध्यापक बुढामगरले जानकारी दिनुभयो ।

अरिंगालको टोकाइबाट बिरामी भएका कक्षा ७ मा पढ्ने आयुष परियारको अवस्था भने सामान्य रहेको र उनी घर फर्किसकेको विद्यालयले जनाएको छ । विद्यालयबाट घर फर्किने क्रममा सात जनालाई अरिंगालले सामुहिकरुपमा टोकेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस