दाङ । आज चार वटा प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभरको मौसम आज दिनभर नै साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही ठाउँमा र तराइको थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि आज केही बढ्ने देखिन्छ ।
















