२०८२ माघ ५ गते सोमवार

प्रधानमन्त्री ओली चीन प्रस्थान

दाङ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि शनिबार चीन प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान चीन प्रस्थान गर्नुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोलीमा प्रथम महिला श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीलगायत सहभागी छन् ।

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ताका साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न ६ देशका सरकार प्रमुखसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता हुने बताइएको छ ।

सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । प्रधानमन्त्री ओलीले भदौ १६ गते गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस