दाङ । राष्ट्रिय जनमोर्चाले अन्तरिम सरकार संसद बाहिरबाट गठन गरेको र संसद विघटन गरेको भन्दै विरोध जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम गरिएको भन्दै जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले विरोध जनाउनु भएको हो ।
राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार संसद बाहिरबाट गठन गरेको हुनाले राष्ट्रपतिको उक्त कार्यको हामीले विरोध गर्दछौँ । सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम भएको छ । केसीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्तिमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो काम प्रतिनिधिसभालाई भङ्ग गर्ने भएको छ । हामीले प्रतिनिधिसभालाई विघटन गर्ने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णयलाई गलत मान्दछौँ र त्यसको विरोध गर्दछौँ भनिएको छ ।
यसलाई जनमोर्चाले लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भएको ठहर गरेको छ । जेनजी आन्दोलनलाई आफ्नो प्रतिगामी उद्देश्यका पक्षमा लैजान राजावादीहरूले पूरा शक्ति लगाएको र त्यसमा उनीहरू पूरा सफल हुन नसकेको केसीले बताउनुभएको छ । तर संसदको विघटनले उनीहरूको प्रतिगामी उद्देश्यलाई केही मद्दत पुग्ने केसीको विश्लेषण छ ।












