दाङ । दाङका तीन वटा सिमेन्ट उद्योगले चरम लोडसेडिङका बेला डेडिकेटेड र ट्रंक लाइन सुविधावापतको तीन अर्ब रुपैयाँ भन्दा बढी महशुल तिरेका छैनन् ।
नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर नन्दलाल शर्माले दिएको जानकारी अनुसार दाङका तीन वटा सिमेन्ट उद्योगको मात्रै जरिवानासहित तीन अर्ब दुई करोड २८ लाख २२ हजार आठ सय १५ रुपैयाँ बक्यौता छ ।
घोराही वितरण केन्द्र अन्तर्गत पर्ने घोराही सिमेन्ट र सोनापुर सिमेन्टको दुई अर्ब २१ करोड ४० लाख चार हजार दुई सय २९ रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।
घोराही सिमेन्ट उद्योगले नेपाल विद्युत प्राधिकरणलाई एक अर्ब ३४ करोड ३५ लाख ३७ हजार छ सय ४४ रुपैयाँ तिरेको छैन भने सोनापुर मिनरल्स एण्ड आयल्स प्रालिले ७७ करोड १९ लाख ७३ हजार छ सय ८५ रुपैयाँ अझै तिर्न बाँकी छ ।
यस्तै सम्राट सिमेन्टले पनि जरिवाना सहित ५० करोड ७३ लाख ११ हजार चार सय ८६ रुपैयाँ विद्युत बक्यौता तिरेको छैन । लोडसेडिङका बेला उद्योग/व्यवसाय र अत्यावश्यक क्षेत्र जस्तै अस्पताल लगायतका क्षेत्रमा लोडसेडिङको असर हुन नदिन प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली उपलब्ध गराएको थियो ।
राष्ट्रिय समस्या भएको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने मन्त्रीस्तरीय निर्णय भदौ २९ गते नै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्ने बेला नै गर्नुभएको छ । ऊर्जामन्त्री घिसिङले पदभार ग्रहण गरे लगत्तै विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता वापतको रकम उठाउने पहिलो निर्णय गरेसँगै बाँकी बक्यौताको खोजी हुन थालेको छ । नयाँ युगबोध राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।










