२०८३ जेष्ठ १८ गते सोमवार

गंगादेवका नागरिकलाई राप्ती लाइफ केयर हस्पिटलको नि : शुल्क उपचार सेवा


रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा एक दिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । राप्ती लाइफ केयर हस्पिटल प्रालि तुलसीपुर, दाङको प्राविधिक सहयोग र गंगादेव गाउँपालिकाको स्वास्थ्य शाखा सानडाँडा, रोल्पाको आयोजनामा शनिबारका दिन जिनाबाङ स्वास्थ्य चौकी चौताराडाँडामा शिविर सञ्चालन गरिएको हो ।

‘सरल सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजना गरिएको शिविरमा पालिका र आसपासका ६०० जना भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच तथा उपचार सेवा प्राप्त गरेका छन् ।

गंगादेव गाउँपालिकाका अध्यक्ष हरि बहादुर पुनको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी केसीको विशिष्ठ आतिथ्यतामा शिविरको उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनले नागरिकको स्वास्थ्यलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न टाढा जानुपर्ने बाध्यता अन्त्य गर्दै नागरिकले आफ्नै घरआँगन नजिक गुणस्तरीय उपचार पाउने वातावरण निर्माण गर्न राप्ती लाइफ केयर हस्पिटलले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी केसीले स्थानीय सरकार र अस्पतालबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै नागरिकको स्वास्थ्य पहुँच विस्तारलाई जोड दिने बताउनुभयो । भौगोलिक रूपमा विकट रहेको यस क्षेत्रका नागरिकका लागि यो शिविर निकै प्रभावकारी र राहतमूलक बनेको उहाँले बताउनुभयो ।

शिविरमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सकलदेव यादव, जिनाबाङ स्वास्थ्य चौकी प्रमुख पवित्रा कुमारी वली डाँगी लगायतका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो ।

शिविरमा राप्ती लाइफ केयर हस्पिटलका विशेषज्ञ डाक्टरहरूको टोलीले बिरामीहरूको स्वास्थ्य जाँच गरेको थियो ।

हस्पिटलका निर्देशक तथा फिजिसियन डा. विनोद राना, रेडियोलोजिष्ट डा. जिग्मी गुरुङ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. निवास शर्मा, स्त्री रोग विशेषज्ञ डा. सोमनाथ भण्डारी, बालरोग विशेषज्ञ डा. सौरभ संग्रौला, मेडिकल अफिसर डा. रितेश शर्मा लगायतले स्वास्थ्य जाँच गर्नुभएको हो ।

शिविरमा जनरल फिजिसियन, हाडजोर्नी, स्त्री रोग तथा बाल रोग सम्बन्धी विशेषज्ञ सेवाका साथै निःशुल्क भिडियो एक्स–रे सेवा निःशुल्क औषधि समेत वितरण गरिएको छ ।

कार्यक्रममा राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरका इमरजेन्सी इन्चार्ज तुलराज बरालले अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवा र सुविधाहरूबारे स्पष्ट पार्दै गंगादेव गाउँपालिकाबाट आउने बिरामीहरूलाई अस्पतालको उपचार सेवामा १० प्रतिशतसम्म र औषधिमा ७ प्रतिशतसम्म विशेष छुट प्रदान गरिने जानकारी दिनुभयो ।

यस्तै आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई गाउँपालिकाको सिफारिसका आधारमा अस्पतालले निःशुल्क उपचार सेवा समेत उपलब्ध गराउने उहाँले बताउनुभयो ।

राप्ती लाइफ केयर हस्पिटलले स्वास्थ्य सेवाको क्षेत्रमा विगत १९ वर्षदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । अस्पतालले नियमित रूपमा विभिन्न गाउँबस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउने, आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सहुलियत तथा निःशुल्क उपचार प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

दाङमा अत्याधुनिक प्रविधि, आधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकहरूको टोलीसहित सञ्चालन भइरहेको अस्पतालले पश्चिम नेपालका हजारौँ बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

उपचारसँगै मानवसेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको हस्पिटलले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

शिविरलाई व्यवस्थित र प्रभावकारी बनाउन राप्ती लाइफ केयर हस्पिटलका एचए वीर बहादुर वली, अकाउन्टेन्ट माधव केसी र फार्मेसी तर्फ विष्णु वली तथा समीक्षा पौडेल खटिनुभएको थियो । त्यस्तै, बिरामीहरूको सेवा र व्यवस्थापनमा स्टाफ नर्सहरू निर्मला पुन मगर, समीक्षा रजौरे, प्रीयंका वली र वर्षा गिरी सहितको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । कार्यक्रमको सञ्चालन नरहरीनाथ योगीले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस