गुल्मी । मदाने गाउँपालिका वडा नम्बर ५ झ्यानपानीमा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएराति दुई बजेको चट्याङले विकका बुबा नेरसिंह र आमा सुन्तली विक भने घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दम्पत्तिलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको प्रहरीले जनाएको छ ।















