सल्यान । सल्यानको कपुरकोट गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा लगातार चौथो पटक उत्कृष्ट बनेको छ । दशवटै स्थानीय तहहरुको स्वास्थ्य सेवातर्फको वार्षिक मूल्यांकनमा कपुरकोट गाउँपालिका गत आर्थिक वर्षमा पनि जिल्लामै प्रथम भएको हो ।
कपुरकोट गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा आर्थिक वर्ष २०७८/२०७९ देखि लगातार बनिरहेको स्वास्थ्य शाखा प्रमुख सुवास हमालले जानकारी दिनुभयो । ‘तीन पटकको नतिजामा बाहिर आएको हो, एउटा वर्षको नतिजा सार्वजनिक भएन ।’ उहाँले भन्नुभयो–‘गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट नतिजा ल्याउनुमा अध्यक्ष, उपाध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी सबैको साथ र सहयोग छ ।’
कपुरकोटले बितेको आर्थिक वर्ष २०८१/८२ मा कुल ३० अंकमा २७ दशमलव २५ अंक प्राप्त गरेर प्रथम भएको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानले बुधबार र बिहिबार गरेको वार्षिक समिक्षामा उत्कृष्ट कपुरकोट गाउँपालिकालाई प्रशंसापत्रले समेत सम्मान गरेको छ ।

यसैबिच गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले कर्मचारीको विभेदरहित सेवाले निरन्तर उत्कृष्टमा पर्न सफल भएको बताउनुभयो । पालिकाले स्वास्थ्य क्षेत्रलाई बजेटमा पनि प्राथमिकता दिएको बताउँदै उहाँले सेवा प्रवाहलाई थप उत्कृष्ट बनाउनका लागि आगामी वर्षमा पनि स्वास्थ्य क्षेत्रमा बजेट व्यवस्थापन र आवश्यक जनशक्तिको व्यवस्थापनलाई प्राथमिकता दिने बताउनुभयो ।
यस्तै उपाध्यक्ष प्रकाश भण्डारीले स्वास्थ्य सेवा प्रवाहमा पालिकाले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्नुमा स्वास्थ्य क्षेत्रका कर्मचारीको प्रमुख भूमिका रहेको भन्दै पालिकाले आगामी दिनमा पनि बजेट र आवश्यक जनशक्तिको व्यवस्थापनमा जोड दिने बताउनुभयो ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलले स्वास्थ्य सेवा प्रवाहमा पालिकालाई लगातार उत्कृष्टता हासिल गराउने सम्पूर्ण कर्मचारीप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर जनप्रतिनिधिले बजेट गर्दा पनि सोचेजस्तो नतिजा दिन सकिएको बताउनुभयो ।
गत आर्थिक वर्षमा २६.०२ अंक प्राप्त गरेर बागचौर नगरपालिका दोस्रो भएको छ भने त्रिवेणी गाउँपालिकाले २५.०७ अंक प्राप्त गरेर तेस्रो भएको छ ।














