दाङ । मनसुन बाहिरिने समयमा थप सक्रिय भएको छ । अहिले दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । पछिल्लो समय विषेशगरी पहाडी जिल्लामा आरिघोप्टे वर्षा भएको छ । रोल्पा, सल्यान, प्युठान लगायतका जिल्लामा वर्षा अत्याधिक भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप सक्रिय भएर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा बर्षाको सम्भावना रहेको जनाएको छ । वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीको जोखिम समेत बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार रोल्पा, प्युठान, सल्यान, दैलेख, कालिकोट, बझाङ, दार्चुला, कञ्चनपुर र आसपासका जिल्लामा बाढीको जोखिम रहेको छ ।
नेपालमा गत जेठ १५ गते भित्रिएर असार ६ गते देशैभरी फैलिएको मनसुन केही समय ढिला गरी मात्रै बाहिरिने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीबार रहे पनि मनसुन उत्तरार्धमा पुगेको समयमा पुनः सक्रिय भएको जनाएको हो । महाशाखाले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने जनाएको छ ।
महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको छ । शनिबार र आइतबार बढी वर्षा हुने र सोमबारबाट भने क्रमशः सुधार हँदै जाने जनाइएको छ ।












