रोल्पा । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो ।
सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद् प्रतिकार्यका निम्ति तयार रहन आह्वान गरेको छ । लगातारको वर्षातका कारण हुन सक्ने जोखिम न्युनिकरणका लागि शहिदमार्ग र रोल्पाका भित्रि सडकमा रातीको समयमा सवारी संचालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको शुक्रबारको निर्णय अनुसार घोराही–होलेरी–घर्तीगाउँ सडकमा रातीको समयमा सवारी साधन संचालनमा रोक लागेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले वर्षा अत्याधिक भएर रातीको समयमा जोखिम हुने भएकाले शहिदमार्ग र ग्रामिण सडकमा बेलुका ६ बजेदेखि बिहान साढे ५ बजेसम्म सवारी साधन संचालनमा रोक लगाइएको छ ।
गएरातीदेखि सवारी साधन संचालनमा रोक लगाइएको छ । यो क्रम २१ गतेसम्म कायम रहने प्रशासन कार्यालयले जनाएको छ । आकस्मिक रुपमा बिरामी बोकेका एम्बुलेन्स भने सुरक्षकर्मीको समन्वयमा संचालन गर्न सकिने प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।
यसैबिच दाङ–सल्यान सडकमा सवारी साधन निर्वाधरुपमा संचालन भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण बेला–बेलामा अवरुद्ध हुने राप्ती राजमार्गमा पछिल्लो केहि दिनयता निरन्तर सवारी साधन संचालन भइरहेका छन् ।










