दाङ । शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य भौतिक सुखसुविधाको खोजीमा दाङको तुलसीपुर उपमहानगरपालिकामा बसाइँ सरी आउनेको संख्या पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दो छ ।
उपमहानगरको तथ्यांक अनुसार पछिल्ला तीन वर्षको अवधिमा करिब तीन हजार परिवार विभिन्न जिल्लाबाट तुलसीपुरमा आएर स्थायी रूपमा बसोबास गर्न थालेका छन् ।
सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ७२४, आर्थिक वर्ष २०८०/२०८१ मा ६९४ र २०७९ /२०८० मा १३१४ परिवार तुलसीपुरमा बसाई सरी आएका छन् । तीन वर्षको अवधिमा २ हजार ७२२ परिवार बसाई सरी आएको देखिएको हो ।
तुलसीपुरमा विषेशगरी सल्यान, रोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व, प्युठान लगायतका जिल्लाका नागरिकहरूले शिक्षा, स्वास्थ्य, यातायात, बजार र रोजगारीका अवसरका लागि तुलसीपुरलाई प्राथमिक गन्तव्यका रूपमा रोज्ने गरेका छन् ।
तुलसीपुर दाङ उपत्यकाको उदाउँदो आर्थिक केन्द्रका रूपमा विकास भइरहेकाले बसाइँसराइको गति बढेको नगरका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख रमा खड्काले बताउनुभयो । पहाडका गाउँहरूमा रोजगारी र सेवा–सुविधाको कमीका कारण युवाहरू मात्र होइन, सम्पूर्ण परिवार नै तुलसीपुर सर्ने प्रवृत्ति बढ्दै गएको छ ।
यो प्रवृत्तिले एकातिर शहरीकरणलाई गति दिइरहेको छ भने अर्कोतर्फ पहाडी बस्तीहरूमा जनसंख्या घट्दै गइरहेको छ । तुलसीपुरमा बसाइँ सर्ने परिवारले यहाँका विद्यालय, अस्पताल र बजार क्षेत्रलाई मुख्य आकर्षण मानेका छन् । शिक्षा क्षेत्रमा तुलसीपुर अहिले आसपासका जिल्लाका विद्यार्थीहरूको पनि प्रमुख केन्द्र बनेको छ ।
बसाइँसराइको यो तीव्रतासँगै नयाँ चुनौतीहरू पनि देखा परेका छन् । उपमहानगरका अनुसार जनघनत्व बढेसँगै आवास, सरसफाइ, खानेपानी, ढल व्यवस्थापन, यातायात जाम र फोहर व्यवस्थापनजस्ता समस्या तीव्र बन्दै गएका छन् ।












