
काठमाडौं, २३ असोज । जेनजी आन्दोलनका कारण सत्ताबाट बढारिएको एमालेले अन्तरिम सरकार र यसका कदमविरुद्ध सडकमा उत्रिने स्पष्ट सन्देश दिएको छ ।
जेनजी आन्दोलन भएको ठीक एक महिना पुगेको दिन एमाले अध्यक्ष केपि शर्मा ओलीले भक्तपुरको गुण्डुबाट वर्तमान सत्ता नेतृत्व र आन्दोलनपछिको राजनीतिक बाटोप्रति नै गम्भीर प्रश्न मात्र उठाएनन् यसको प्रतिवाद गर्ने घोषणा गर्नुभएको छ ।
नेपाली सेनाको सुरक्षा घेरमा १० दिन बसेर बाहिरिएपछि पार्टीका नेताहरुसँग आन्तिरक कुराकानी गरिहेका ओलीले बिहीबार मञ्चबाटै आफ्नो विगतकै शैलीमा राजनीतिक कटाक्षयुक्त भाषण गर्नुभएको छ । उहाँले वर्तमान सरकार, सरकारले बनाएको जाँचबुझ आयोग, संसद् विघटन र आफ्नो पासपोर्ट रोक्का लगायतका विषय अस्वीकार गर्ने घोषणा गर्नभएको छ ।
साथै, एमालेले आगामी शनिबार काठमाडौंमा मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गर्ने भएको छ । सोही कार्यक्रममा पोलिटब्युरो सदस्य महेश बस्नेतले युवा संघको आयोजनामा र्याली आयोजना गर्ने जानकारी गराएका छन् ।
भक्तपुरको गुण्डुमा पार्टीले आयोजना गरेको कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा ओलीले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगलाई पूर्ण रुपमा अस्वीकारको घोषणा गरेका छन् । यो आयोगमा ओलीलाई मानवताविरुद्धको अपराधमा कारबाही गर्नुपर्ने भन्दै जेनजी आन्दोलनका मृतक परिवारले दिएको जाहेरी प्रहरीले पठाइसकेको छ । –अनलाइनखबरबाट