दाङ । तिहारको अवसरमा व्यवसाय, कामकाज र पढाइका लागि शहरमा रहेका मानिसहरू गाउँ फकिएका छन् । दाङको तुलसीपुर, घोराही जस्ता ठूला शहरहरूमा अध्ययन र रोजगारका लागि रहेका दिदीबहिनी तथा दाजुभाइहरू तिहारको रमझम आफ्नै घरपरिवारसँग मनाउन जन्मथलो गएका हुन् ।
दशैंपछि आउने यो दोस्रो ठूलो पर्वका लागि परिवारसँगको भेटघाट, देउसीभैलो, र पूजापाठमा सहभागी हुनका लागि यात्रा गर्नेको संख्या बढिरहेको छ । तिहारमा गाउँ फर्कनेहरूमा विशेषगरी विद्यार्थी, संघसंस्थामा कार्यरत कर्मचारीहरू र दैनिक मजदूरीमा रहेका श्रमिकहरू छन् । शहरको चहलपहलभन्दा पारिवारिक मिलन र परम्परागत चाडको उल्लास गाउँघरमै अनुभव गर्न पाउँदा उनीहरू खुसी छन् ।
गाउँ फर्कने चहलपहलले दाङलगायत ग्रामीण क्षेत्रमा आर्थिक गतिविधिमा पनि वृद्धि गरेको छ। यसरी तिहारको रौनकले गाउँ फर्कनेको लागि विशेष महत्व पाएको छ।
गाँउ तथा शहरमा भैलो र देउसीका भाकाले तिहारको रौनकता थपेको छ । तिहार शुरु भएसंगै देउसी र भैलो खेल्नका लागि विभिन्न क्लब, संघ/संस्था, बालबालिका घर–घरमा पुगेका छन् ।
घरघरमा पुगेको देउसी भैलोको समुहलाई गक्ष अनुसारको दक्षिणा दिने प्रचलन रहेको छ । समयको परिवर्तनसंगै ठुला–ठुला आवाजमा गित बजाउने र भैली खेल्ने परम्परा पनि बस्न थालेको छ ।
तर पछिल्लो समय दिपावलीमा भैलो खेल्ने शैली फेरिदा विकृति भित्रिएको जानकारहरुले बताएका छन् । प्रविधिको विकाससंगै सामाजिक संजालमा पनि देउसी भैली खेलेका प्रत्यक्ष दृश्यहरु देखिन थालेका छन् । दिदीबहिनीलाई आज बिहानै माला उन्न चटारो छ भने तिहारका परिकार बनाउने काम भइरहेको छ ।












