२०८२ मङ्सिर २२ गते सोमवार

केहि ठाउँमा वर्षा र हिमपातको संभावना : मौसमको अवस्था बुझेरमात्र धान काट्न सुझाव

दाङ, १० कार्तिक ।
दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा आज बिहानैदेखि मौसममा बदली देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बेलुकीदेखि शुक्रवारसम्म देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आज सबै प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

भोलि पनि गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलका अनुसार भोलिदेखि शुक्रवारसम्म देशका धेरै ठाउँमा पानी पर्नेछ । देशको पूर्वी भागमा अलि धेरै पानी पर्न सक्ने अनुमान छ ।

अरु क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद् पोखरेलको अनुमान छ । यतिबेला किसान धान काट्न व्यस्त भएकाले काटेको धान तत्कालै भित्र्याउन र ४/५ दिन सकभर धान काट्ने र भित्र्याउने काम नगर्न विज्ञहरुको सल्लाह छ ।

यस्तै सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवम् ‘अलर्ट’ बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो ।

यस्तै, पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न एवम् लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवम् एक्लै यात्रामा ननिस्कनसमेत अनुरोध गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस