सल्यान । राप्ती राजमार्ग सडक खण्डमा गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सल्यानको बागचौर नगरपालिका–४ बाङ्गेलाखुरीकमा आज मंगलबार बिहान फोर्स गाडी दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा सल्यान दार्मा गाउँपालिका–५ बस्ने ३३ वर्षीय बुद्विमान केसी, दार्मा गाउँपालिका–२ बस्ने करिब ६१ र्व्षका रत्न कुमारी वली र सोही ठाउँका करिब ५० वर्षीया टेक कुमारी वली रहेको सल्यान प्रहरीले जनाएको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको बागचौरस्थित सहज पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपालगन्जबाट अर्वारे फारुलातर्फ जाँदै गरेको लु.प्र.०१–००१ख ०२४१ नम्बरको फोर्स गाडी बाङ्गेलाखुरीमा दुर्घटनामा परेको हो । गाडी सडकबाट करिब ७ मिटर तल खसेको छ ।
गाडीमा १४ जना यात्रु सवार रहेका थिए । गाडी चालक बाँकेको कोहलपुर उपमहानगरपालिका—१२ चप्परगौरी बस्ने २७ वर्षीय कमल बोहरा रहेको प्रहरीले जनाएको छ ।
















