२०८२ माघ ७ गते बुधवार

विकास बेवास्ता : वडा कार्यालय बन्द गरेर साँचो गाउँपालिकालाई

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–२ का वडा अध्यक्ष अभिलाषा रोका मगरले वडा कार्यालय बन्द गरेर साँचो गाउँपालिकालाई बुझाउनुभएको छ ।

गाउँपालिकाअन्तर्गत पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध हुँदा पनि सञ्चालनमा नआउनु, केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा निरन्तर ढिलासुस्ती हुनु लगायतका विकास निर्माणका काममा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका कार्यालयले कुनै चासो नदेखाएको कारण वडाअध्यक्ष मगरले यस्तो कदम चाल्नुपरेको बताउनुभयो ।

उहाँले जनताको माग र समस्या बेवास्ता गरिएको भन्दै भोलि कार्तिक १३ गतेदेखि वडा कार्यालय बन्द गरी साँचो गाउँपालिकालाई बुझाउने र ती मागहरू तत्काल पूरा नभए वडा अध्यक्ष पदबाट राजीनामा दिने चेतावनी दिनुभएको छ ।

वडा अध्यक्ष रोका मगरले भन्नुभयो “जनताको माग र गुनासोमा ध्यान नदिँदा म पनि जनताकै पक्षमा उभिन बाध्य भएको छु । गाउँपालिकाले तत्काल समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्छ ।”

उहाँका अनुसार लामो समयदेखि स्थानीय जनतालाई दैनिक सेवा, आवतजावत र विद्युतीय सुविधामा समस्या परे पनि गाउँपालिकाले कुनै पहल नगरेपछि आफू यस्तो कदम चाल्न बाध्य हुनुभएको हो ।

यस विषयमा थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले आफूलाई उक्त घटनाबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ। उहाँले भन्नुभयो “म अहिले पालिकाको केन्द्रभन्दा बाहिर छु। यो विषयमा म अनविज्ञ छु। पालिकाको केन्द्र पुगेपछि मात्रै यसबारे थप कुरा थाहा हुनेछ ।”–सिआईएनबाट

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस