२०८२ मङ्सिर २२ गते सोमवार

मोन्था चक्रवातको असरले नेपालमा वर्षा र हिमपात

दाङ, १३ कात्तिक । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको असरले नेपालमा पनि वर्षा र हिमपात भइरहेको छ । यसको प्रभाव अझै बढ्ने र पूर्वी तराई र मधेश प्रदेशका जिल्लामा बढी क्षति पुर्‍याउन सक्ने आशंका छ ।

आजभन्दा एघार वर्ष अघि अर्थात् सन् २०१४ मा पनि कात्तिक महिनामै ‘हुदहुद’ नामको चक्रवात आएको थियो । त्यसको असरले नेपालका उच्च हिमाली क्षेत्रमा हिमपातका कारण करिब ४० जनाको मृत्यु भएको थियो ।

अहिले फेरि मोन्था नामको चक्रवातले नेपालमा विनाश निम्त्याउने प्रक्षेपण छ । त्यसैले यसको क्षतिबाट जोगिन पर्वतारोहणमा नजान र बाढी तथा डुबान प्रभावित क्षेत्रमा उच्च सतर्कतामा रहन मौसमविदहरुले सुझाव दिएका छन् ।

चक्रवात एक विशाल वायु प्रणाली हो, जुन कम दबाबयुक्त क्षेत्रको केन्द्र भागबाट चारैतिर घुम्छ । चक्रवातको मुख्य विशेषता नै चक्रजसरी घुम्ने हावाको वेग हो, जुन उत्तरी गोलार्धमा घडीको सुईको विपरीत दिशामा र दक्षिणी गोलार्धमा घडीको सुई घुम्ने दिशामा घुम्दछ ।

यसबाट तीव्र वेगमा आँधी चल्छ र त्यो आँधीले उडाएर ल्याएको बादलले वर्षा गराउँछ । सागरबाट बहँदै जमिनमा बज्रिएपछि तुफानको शक्ति पनि क्षीण हुन्छ ।

विज्ञहरुका अनुसार चक्रवातको पहिचान गर्न र मानिसहरुलाई जागरुक बनाउन नाम राख्ने गरिन्छ । त्यसको पनि विश्व मौसम संगठनले तय गरेको निश्चित विधि, प्रक्रिया र चक्रवातका लागि बनाइएका मानकअनुसार नामकरण गरिन्छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस