दाङ । दाङमा भन्सार छली गरि ल्याएको एक लाख बढीको कपडा प्रहरीले बरामद गरेको छ । लमही नगरपालिका–९ अमिलिया नजिकै पूर्व–पश्चिम राजमार्गको उत्तर किनारमा प्लास्टिकको बोरामा राखिएको कपडा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।
हिजो शनिबार हपरान्ह साढे ४ बजेतिर प्लास्टिकको बोरामा राखिएको कपडा बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार लेडिज कुर्ता–सुरुवाल १११ थान र लेडिज सुरुवाल ६ थान अनुमानित मूल्य एक लाख चार हजार रुपैयाँ बराबरको रहेको छ ।
बिलबिजक नभएको र सो कपडामा हकदाबी गर्ने कोही पनि नआएपछि बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कोईलाबास दाङ पठाइएको प्रहरीले जनाएको छ ।















