दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद रिजालले तुलसीपुरको क लाइनस्थित तल्लो बजार चोकलाई पृथ्वीनारायण चोक नामकरण गर्ने तथा राउन्डअबाउट निर्माण गर्ने विषयमा आपत्ति जनाउनुभएको छ ।
नेता रिजालले सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक चोकको नामकरण र संरचना निर्माणजस्तो विषयमा आवश्यक प्रक्रिया पूरा नगरी निर्णय गर्न खोजिएको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाउनुभएको हो ।
उहाँले तुलसीपुर बजारका सडक साँघुरा रहेको, दिनप्रतिदिन सवारी चाप बढ्दै गएको र अव्यवस्थित पार्किङ तथा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको अवस्थामा तल्लो बजार चोकमा राउन्डअबाउट निर्माण गर्दा सवारी आवागमनमा सहजता आउँछ वा थप समस्या सिर्जना हुन्छ भन्ने विषयमा प्राविधिक अध्ययन हुनुपर्ने बताउनुभएको छ ।
रिजालले चोकको नाम परिवर्तन गर्ने निर्णय कसले गरेको हो, सम्बन्धित स्थानीय सरकार वा अधिकारप्राप्त निकायबाट औपचारिक निर्णय भएको छ कि छैन भन्ने विषयमा स्पष्ट पार्न माग गर्नुभएको छ ।
त्यस्तै, राउन्डअबाउट निर्माणका लागि प्राविधिक अध्ययन, ट्राफिक व्यवस्थापनको मूल्याङ्कन तथा सडकको क्षमतासम्बन्धी विश्लेषण गरिएको छ कि छैन भन्ने प्रश्नसमेत उठाउनुभएको छ ।
सार्वजनिक महत्वका यस्ता विषयमा स्थानीय व्यवसायी, नागरिक, सरोकारवाला निकाय र नगरवासीसँग छलफल तथा परामर्श गर्नुपर्ने उहाँको भनाइ छ ।
विकासका नाममा जथाभावी संरचना निर्माण गर्नुभन्दा तुलसीपुरको दीर्घकालीन आवश्यकता र सहरी व्यवस्थापनलाई ध्यानमा राखेर योजना बनाउनुपर्ने उल्लेख गर्दै रिजालले तुलसीपुर उपमहानगरपालिकासँग यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्नुभएको छ ।
उहाँले विकास आवश्यक भए पनि त्यसका लागि पारदर्शी निर्णय प्रक्रिया, स्पष्ट कानुनी आधार र सार्वजनिक हित सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ ।


























