दाङ । दाङ उपत्यकामा आज बिहानैदेखि हुस्सु लागेको छ । तर दिउँसोपख मौसम सफा रहने अनुमान गरिएको छ । हुस्सुका कारण सडकमा सवारी साधन संचालन गर्न समस्या हुने गरेको छ भने किसानलाई खेतबारीमा काम गर्न समस्या हुने गरेको छ ।
नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा पनि भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।
दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।
कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।










