दाङ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावली संकलन तथा अद्यावधिकको काम उत्साहजनक रुपमा भइरहेको छ । यसबीचमा दशैँ, तिहार र छठका कारण उत्साह कम देखिएको भए पनि केही दिनयता नामावली संकलनमा उत्साह बढ्न थालेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सातवटै प्रदेश र सबै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भइरहेको छ । आयोगले गएको असोज ९ गतेदेखि नामावली सङ्कलन थालेकोमा अहिलेसम्म एक लाख भन्दा धेरै नयाँ मतदाता थपिएका छन् । मतदाता नामावली दर्ता गर्न अब १० दिन मात्र बाँकी रहेको छ ।
आयोगका अनुसार यो महिनाभरी मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ । १६ वर्ष उमेर पुगेर नागरिकता बनाएकाहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्छन् । तर फागुन २१ गतेको चुनावमा भोट दिनको लागि भने फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्ने आयोगले जनाएको छ ।
















