दाङ। गत भदौ १० गते आएको बिनाशकारी भोटेकोशी बाढीमा परी वेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँ निवासी गोपीलाल रोका र लालबहादुर रोकाको आइतबार कुशको शब बनाएर अन्त्यष्टी गरिदै छ ।
वेपत्ता भएको तीन साता बढीसम्म पनि केहि पत्ता लाग्न नसकेपछि बावुछोराको कुशको शब बनाएर शितलपुर बबई घाटमा अन्त्यष्टी गरिन लागेको हो । आइतबार (आज) बिहान ९ बजे शितलपुर आर्यघाटमा अन्त्यष्टी गरिन लागेको परिवारले जनाएको छ ।
भोटेकोशी बाढी आएपछि सम्पर्कबिहिन भएका श्रीमान गोपीलाल रोका र जेठो छोरा लाल बहादुरको तीनसाता बढी हुँदासम्म पनि केहि पत्ता लाग्न नसकेपछि कुशको शब बनाएर अन्त्यष्टी गरिन लागेको कमला रोकाले बताउनुभयो । बाढीपछि उहाँका श्रीमान र छोरामात्रै नभएर दुई भान्जा र दिदीको कान्छो छोरासमेत वेपत्ता छन् ।
रोजगारीका लागि रसुवा पुगेका श्रीमान, जेठो छोरा र अरु आफन्त वेपत्ता हुँदा रोका परिवार शोकमा छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार बाढीमा परेर दाङका ५४ जना अझै सम्पर्कबिहिन रहेका छन् । हराएको लामो समय हुन थालेपछि केहि परिवारले कुशको शब बनाएर अन्तिम संस्कार गर्न थालिसकेका छन् ।

























