दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की १९ वर्षीया पुष्पा गिरीले जीवन सुरक्षाको माग गर्नुभएको छ । बुधबार घोराहीमा पत्रकार सम्मेलन गरी गिरीले आफूलाई फोनमार्फत मार्ने धम्की आइरहेको भन्दै जीवन सुरक्षाका लागि अपिल गर्नुभएको हो ।
तुलसीपुर–६ का २८ वर्षीय रतन गिरीसँग २०७८ साल मंसिरमा प्रेम विवाह गर्नुभएकी पुष्पाका ढाई र डेढ वर्षकी दुई छोरी छन् । तर अपहेलना गर्दै परिवारले बिहे भएको एक वर्षपछि २०७९ मा घरबाट निकाला गरे । त्यसपछि माइतीमा आश्रय लिएकी पुष्पाले केही समयभित्रै घर नजिकै डेरा लिएर बस्न थाल्नुभयो ।
अहिलेसम्म घरमा जान नपाएको उल्लेख गर्दै उहाँले पछिल्ला एक वर्षदेखि श्रीमान रतन गिरीले पनि अपहेलना गर्ने, मानसिक तनाव दिने, छोरीहरु आफ्ना नभएको भन्दै जन्मदर्ता नै नगरिदिने र आफूले अर्की श्रीमती विहे गरेको भन्दै खर्च समेत दिन छोडेको पुष्पाले बताउनुभयो ।
उहाँले उमेर नपुगेकै कारण विवाद दर्ता नभएको र अहिले विवाह दर्ता र कान्छो छोरीको जन्मदर्ता गराउन माग गर्दा मार्ने धम्की आउन थालेको भन्दै सुरक्षा र न्यायका लागि अपिल गर्नुभयो । वैदेशिक रोजगारीका लागि कुवेत बस्दै आउनु भएका पुष्पाका श्रीमान रतन गिरीले यही कार्तिक १४ गते कुटपिट गर्दा टाउँकोमा टाका लगाउनुपरेको पीडितले बताउनुभयो ।
खर्च समेत नदिदा नाबालक दुई छोरीहरुसमेत दुई, तीन दिनसम्म भोकै बस्नुपरेको दुःख सुनाउँदै पुष्पाले घर परिवार र श्रीमानको मानसिक टर्चरका कारण आफूले गत भदौमा विष सेवन गरेर आत्महत्या प्रयास गर्न बाध्य भएको बताउनुभयो । छिमेकीले उपचार गरेपछि जीवन बाँचेको उल्लेख गर्दै पुष्पाले ससुरा अमर गिरीले समेत छोरीहरुलाई दुर्व्यवहार गरेको आरोप लगाउनुभयो ।
पुष्पाका ससुरा बा अमर गिरीले तुलसीपुरको घोराही रोडमा अमर रेष्टुरेन्ट सञ्चालन गर्नुहुन्छ । आर्थिक हैसियत छ तर बुहारी, नातिनीलाई एक छाक खान नदिएर घर निकाला गरेको स्थानीय बताउँछन् । घर परिवारबाटै हिंसामा परेकी पुष्पाले छोरीहरुको जन्मदर्ता, आफ्नो विवाह दर्ता गरिदिन माग गर्नुभयो । नयाँ युगबोध राष्ट्रिय दैनिकमा खबर छ ।














