२०८२ फाल्गुन २९ गते शुक्रवार

रोल्पाको थबाङमा पुग्यो नेपाल विद्युत प्राधिकरणको बिजुली


रोल्पा । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन १० वर्षे जनयुद्धको आधार भुमि थबाङमा पुगेको छ । थबाङ गाउँपालिका १ र २ को गल्चोर, मराङ्थाना र ठुलो गाउँमा केन्द्रीय विद्युत प्रसारण लाइन पुगेको हो ।

लुम्बिनी प्रदेशका सांसद दिपेन्द्रकुमार पुनले बटन थिचेर थबाङमा केन्द्रीय विद्युत आपूर्तिको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा सम्बोधन गर्दै सांसद पुनले रोल्पामा करिब ३६ हजार घरमा विद्युत पुगेको बताउनुभयो ।

रोल्पामा करिब ५२ हजारभन्दा बढी घरधुरी छन् । अहिले करिब ७५ प्रतिशत घरमा केन्द्रीय विद्युत पुगेको छ । २०६४ सालअघि विद्युतको पहुँच जम्मा १९ प्रतिशत मात्र थियो, अहिले आएर रोल्पा विद्युत क्षेत्रमा फड्को मारेको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रोल्पाका कार्यालय प्रमुख अशेश्वर शाहले लामो समयको प्रयास र चुनौतीपछि थबाङमा केन्द्रीय विद्युत लाइन पुर्‍याउन सफल भएको बताउनुभयो ।

शाहले थबाङ गाउँपालिकाभित्र बाँकी वडाहरूमा आगामी वर्षमा विद्युत विस्तार गर्ने दाबी गर्नुभयो । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले विद्युत थबाङमा पुगेकोमा स्थानीयवासी निकै उत्साहित भएको बताउनुभयो ।

केन्द्रीय विद्युत लाइन सञ्चालनमा आएसँगै थबाङ गाउँपालिका १ र २ का गल्चोर, मराङ्थाना र ठुलो गाउँका करिब २ सय ५० घरमा प्रत्यक्ष रूपमा विद्युत पुगेको छ । विद्युत पुगेपछि गाउँमा अध्ययन, सञ्चार, व्यवसाय र दैनिक जीवनका कामहरू सहज हुनेमा स्थानीयवासीले खुशी भएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस