२०८२ माघ ८ गते बिहिवार

सरकारले निर्वाचनको वातावरण निर्माण गर्न नसकेको एमाले उपमहासचिव ज्ञवालीको आरोप

दाङ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न नसकेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बिहिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव ज्ञवालीले सरकारले २१ फागुनमा निर्वाचनको मिति घोषणा गरेर नाटकमात्रै मञ्चन गरेको बताउनुभयो ।

जेनजी आन्दोलनपछि बनेको असंवैधानिक सरकारले दलहरुलाई निषेध गरेर निर्वाचनमा जाने वातावरण बनाउन नसकेको उहाँको आरोप छ ।

उहाँले सरकारले नै दलहरुको अस्तित्व स्विकार गर्न नसकेको बताउनुभयो । सरकारका आसपासका व्यक्तिले भड्काउपूर्ण अभिव्यक्ति दिदा पनि सरकार मौन बसेको बताउँदै उहाँले सरकारले नै मुठभेट निम्त्याउने कोशिस गरिरहेको आरोप लगाउनुभयो ।

जेनजी आन्दोलनमा भएको मानविय एवं भौतिक क्षतिको जिम्मेवारी तत्कालिन सरकारले लिनुपर्दैन भन्ने प्रश्नमा उपमहासचिव ज्ञवालीले तत्कालिन नेतृत्वले कमीकमजोरी स्विकार गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीको बचाउ समेत गर्नुभएको छ । तत्कालिन नेतृत्वको कमजोरी नहुँदा पनि जवरजस्ती विवादमा तान्न खोज्नु राजनीतिक पूर्वाग्रह भएको समेत उहाँको आरोप छ ।

प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रम भएको हो । प्रेस चौतारी तुलसीपुरका अध्यक्ष बसन्त परियारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी दाङका सचिव निमुसंगम घर्तीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस