२०८२ फाल्गुन २९ गते शुक्रवार

प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी तीव्र

दाङ । प्रतिनिधि सभा निर्वाचनको समय साढे तीन महिना बाँकी रहँदा जनक शिक्षा सामाग्री केन्द्रले मतपत्रदेखि अन्य छपाइका लागि तयारी थालेको छ । निर्वाचन आयोगसँग पाँचपटक छलफल गरिसकेको केन्द्रले औपचारिक पत्र पाउनासाथ मतपत्र छपाइ सुरु हुने जनाएको छ ।

फागुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतपत्रसहितका सबैखाले छपाइमा जुटेको जनक शिक्षा सामाग्री केन्द्रले कार्ययोजना नै बनाएको छ । केन्द्रका अनुसार नमूना मत्रपत्रदेखि आवश्यक प्रचार सामग्री र मतपत्र छाप्ने प्रक्रियाका लागि तीन महिना लाग्ने छ ।

मतदानको समयका लागि पनि अब करिब साढे तीन महिना बाँकी रहेकोले जनक शिक्षा काम थाल्न निर्वाचन आयोगको औपचारिक पत्रको पर्खाइमा छ । छपाइका लागि कागज, मसीदेखि मेसिनहरू तम्तयार अवस्थामा राखिएको छ ।

आगामी निर्वाचनका लागि करिब ४ करोड नमूना मतपत्रसहित मतदाता परिचयपत्र, पोष्टरहरू र आवश्यक फारमदेखि समानुपातिक तर्फको मतपत्र पनि छाप्नुपर्ने हुन्छ । त्यसका लागि जनक शिक्षासँग भएका ३ सय भन्दाबढी जनशक्ति परिचालन हुनेछन् । सेक्युरिटी प्रेसदेखि अत्याधुनिक १७ वटा वेभ मेसिनहरू तयारी अवस्थामा छन् ।

निर्वाचन आयोगको औपचारिक पत्र पाएपछि जनक शिक्षाले तीन तहको सुरक्षा घेरा बनाएर छपाइको काम थाल्नेछ । जनक शिक्षाले २०६४ सालको संविधानसभाको निवार्चनदेखि तीनवटै तहका निर्वाचनमा मतपत्र र अन्य छपाइको काम गर्दै आएको छ । यसपालीको निर्वाचनमा मतपत्र र अन्य छपायका लागि मात्रै करिब २५ करोड खर्च हुने अनुमान जनक शिक्षाको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस