२०८३ साउन १८ गते सोमवार

सानीभेरी गाउँपालिका अस्पतालले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै


दाङ ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका अस्पतालले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ । अस्पतालको नवनिर्मित १५ शैयाको आधुनिक भवन निर्माण भएपछि नयाँ भवनबाटै सेवा दिन थालिएको हो ।

गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले आधुनिक भवनबाट स्वास्थ्यसेवा सञ्चालन गर्न पाउनु गाउँपालिकाका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले भवन निर्माणसँगै अब यसबाट गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्यसेवा प्रवाह गर्नु सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो ।

भवन शिलान्यास भएको करिब साढे पाँच वर्षपछि निर्माण पूरा भएको हो । २०७७ फागुनमा तत्कालीन गाउँपालिका अध्यक्ष नरबहादुर पुनले शिलान्यास गर्नुभएको उक्त भवन करिब १८ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले जानकारी दिनुभयो ।

त्यस अवसरमा प्रसूतिसेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै अस्पतालमा कार्यरत अनमी मनकला ओलीलाई सम्मान गरिएको हो । उहाँले एक वर्षको अवधिमा ७९ वटा सफल प्रसूतिसेवा प्रदान गर्नुभएको अस्पतालले जनाएको छ । सोही मूल्याङ्कनका आधारमा नगद २० हजार रुपैयाँ र सम्मानपत्रसहित उहाँलाई सम्मान गरिएको हो ।

यसै गरी प्रसूतिसेवामा सहयोगीका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रविक विकलाई नगद पाँच हजार रुपियाँ र सम्मानपत्रले सम्मान गरिएको छ । कार्यक्रममा अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादातालाई पनि सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस