दाङ । दाङको तुलसीपुरस्थित गोरखा आवासिय विद्यालयले विद्यार्थीलाई कथा लेखन र वाचनमा अभ्यस्त गराउन थालेको छ । विद्यालयले तीन दिने कार्यशाला गरेर विद्यार्थीलाई कथा लेखन र वाचनमा अभ्यस्त गराएको हो ।
विद्यार्थीलाई कथा लेखनमा अभ्यस्त बनाउन विद्यालयले कार्यशाला सञ्चालन गरेको हो । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूले कार्यशालामा सहभागी भएर आफ्ना कथाहरू तयार परेका छन् ।
विद्यार्थीहरूले सोमबार आफैले लेखेका कथासमेत प्रस्तुत गरेका छन् । उनीहरूले समसामयिक विषयवस्तुलाई कथावस्तु बनाएर कथा प्रस्तुत गरेका हुन् । कक्षा ७ की स्वस्तिका डिसीले घरमा बुवाले मादक पदार्थ सेवन गर्दा परिवारमा परेको असरबारे कथा लेखेर वाचन गर्नुभएको छ ।

यस्तै कक्षा ७ कै सोनम राम्जाले धार्मिक विभेदका कारण समस्यामा परेको एक परिवारले सानो होटल व्यवसायबाट फाइभ–स्टार होटलसम्मको यात्रा गर्न सफल भएको कथा प्रस्तुत गर्नुभएको छ ।
कक्षा ६ की जेनिसा डाँगीले सफलताका लागि मेहनत नै सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने सन्देशसहितको कथा प्रस्तुत गर्नुभएको छ । विद्यालयका करिब सात जना विद्यार्थीहरूले कथा प्रस्तुत गरेका छन् । सहभागी विद्यार्थीहरूले कथा लेखनलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएका छन् ।

कार्यक्रममा समीक्षक खगेन्द्र काफ्लेले विद्यार्थीहरूको कथावाचन सुनेर प्रस्तुत कथाहरूको समीक्षा गर्नुभयो । दाङलाई अब साहित्यको उर्वर भूमि बनाउनुपर्ने बताउँदै काफ्लेले गोरखा आवासिय विद्यालयले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
गोरखा आवासिय विद्यालयका प्रधानाध्यापक रबिन खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत चित्रा बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि बस्नेतले सानै उमेरदेखि बालबालिकालाई कथा लेखनमा अभ्यस्त गराउँदा सिकाइमा ठूलो प्रभाव पर्ने बताउनुभयो ।
त्यस्तै गोरखा मावि तुलसीपुरका प्रधानाध्यापक विजयमान जिएमले विद्यार्थीले लेखेका कथाहरूलाई पुस्तकमा प्रकाशित गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–६ की सदस्य देवी पोखरेल, पत्रकार दीपक बोहोरा लगायतले बालबालिकाको कथा लेखन सीप विकासमा कार्यशालाले महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो ।
तीन दिनसम्म सञ्चालित कथा लेखन कार्यशालामा प्रशिक्षकका रूपमा बिजयराज आचार्य रहनुभएको थियो ।















