२०८२ माघ २५ गते आइतवार

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका बारेमा तुलसीपुरमा बहस

दाङ। जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका बारेमा तुलसीपुरमा मंगलबार बहस गरिएको छ । नागरिक समाज र विभिन्न राजनैतिक दलका बिचमा बहस गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापाले तत्कालीन सरकार भ्रष्टाचारको केन्द्र बन्दा जेनजी आन्दोलनको परिस्थिति सिर्जना भएको बताउनुभयो ।

उहाँले आन्दोलनको क्रममा भएको सम्पूर्ण क्षतिको जिम्मेवारी प्रमुख दल कांग्रेस, एमाले र माओवादीले लिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले तुलसीपुरमा गरेको ‘जेनजी आन्दोलन र त्यसले दिएको शिक्षा’ विषयक अन्तरक्रियामा सल्लाहकार थापाले जेनजी आन्दोलनपछि देश झन् २० वर्षपछि धकेलिएको बताउनुभयो ।

उहाँले जेनजी आन्दोलनमा अमेरिकाको घुसपैठ भएको बताउनुभयो । उहाँले रास्वपालाई अमेरिकाले परिचालन गरेको समेत आरोप लगाउनुभएको छ ।

त्यस्तै नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय सदस्य शितल सीले अब सबै राजनैतिक दल एक ठाउँमा आएर देशलाई जोगाउनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले सत्तामा भएकाहरुले गरेको ज्यादतीका कारण पछिल्लो परिस्थिति सिर्जना गरेको बताउनुभयो ।

उहाँले अमेरिकाले बालेनलाई प्रयोग गरेको समेत आरोप लगाउनुभएको छ । यस्तै अहिलेको सरकार जेनजीको नभइ सुशीला कार्कीको भएको बताउदै उहाँले सर्बपक्षिय अन्तरिम सरकार बनाउनुपर्ने बताउनुभयो । देशमा संविधान भएपनि नागरिकले संविधानको अनुभुति गर्न नसकेको बताउँदै उहाँले संविधान पुनर्लेलेखन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले फागुन २१ मा चुनाव हुनेमा आसंका समेत व्यक्त गर्नुभएको छ । परिचालित शक्तिहरू जित्ने अवस्था नआउन्जेलसम्म चुनाव नहुने उहाँको भनाइ छ ।

यस्तै क्रान्तिकारी कम्युनिस्ट नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद भण्डारीले जेनजी आन्दोलनले नेताहरू भ्रष्टाचारी भएको प्रमाणित गरेको बताउनुभयो । अहिले उनिहरू सत्तााबाहिर हुँदा छट्पटी भएको समेत बताउनुभएको छ ।

नागरिक समाजका पुर्व अध्यक्ष टिकाराम रेग्मीले गोलमेच सम्मेलनका माध्यमबाट राजनीतिक दलहरूलाई एक ठाउँमा आग्रह गर्नुभयो । उहाँले दलहरू सच्चिन नसक्दा अहिलेको स्थिति सिर्जना भएको बताउनुभयो । १० वर्षमा ९ प्रधानमन्त्री फेरिनु सामान्य कुरा नभएको बताउँदै उहाँले जेनजी पुस्ताले परिवर्तन देख्न चाहेको बताउनुभयो । उहाँले जेनजी पुस्ता विकृतिका बिरुद्ध लाग्नुुपर्ने तर उनिहरू पनि घरघरमा पाटी खोलेर मिल्न नसकेको बताउनुभयो ।

उहाँले संविधान कोममा पुगेको र निर्वाचनको पनि स्थिति नभएको बताउनुभयो । यस्तै कानुन व्यवसायी उत्तम भण्डारीले जेनजी आन्दोलन भन्दा जटिल स्थिति आउन सक्ने बताउनुभयो । उहाँले अघिल्लो सरकारले गलत काम गर्दा जेनजी आन्दोलनको स्थिति सिर्जना भएको बताउँदै सबै जातजाति र धर्म समुदायलाई राज्यको मुलधारमा ल्याउनका लागि समानुपातिक र समावेशी सिद्धान्त अघि सारेको तर मूलधारका पाटीले गलत प्रयोग गरेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समितिको तर्फबाट कासीनाथ पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको हो । जिल्ला समितिका सल्लाहकार तथा तुलसीपुर नगर अध्यक्ष श्यामलाल पोखरेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य तथा तुलसीपुर नगर इन्चार्ज ईश्वरी भण्डारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस