दाङ । दाङमा प्रदुषणको मात्रा स्वास्थ्यको लागि अस्वस्थकर अवस्थामा पुगेको छ । वातावरण विभागका अनुसार आज बिहान दाङको देउखुरी आसपास प्रदुषणको मात्रा एक्यूआइ १ सय ७४ छ । १ सय ५० भन्दा माथि प्रदुषणको मात्रा अस्वस्थकर मानिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार एक्यूआईको मान एक सय भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ । तर त्यसभन्दा माथि स्वास्थ्यको लागि हानिकारक हुन्छ ।
बढ्दो प्रदुषणका कारण स्वास्थ्यमा विभिन्न समस्या आउन सक्ने भन्दै नियन्त्रण गर्न व्यक्ति आफै पनि सचेत हुनुपर्ने वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बताउनुभयो ।
हाल विभागले सडक, उद्योग लगायतका ठूला परियोजनालाई प्रदुषण कम हुने गरि कम गर्न निर्देशन दिएको उहाँको भनाइ छ । विस्तारै चिसो बढ्दै गएको र सँगै खेतबारीमा रहेका पराल अनि घुर जलाउने क्रम बढेकाले प्रदुषण बढ्दै गएको वातावरण विभागले जनाएको छ ।
प्रदुषण हटाउन ठूलो पानी वा तिव्रगतिको हावा चल्नुपर्छ । तर तत्काल ठूलो पानी पार्ने वा तिव्रगतिको हावा चल्ने प्रणाली नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदुषण बढ्दै जाँदा स्वास्थ्यमा विभिन्न समस्या आउन सक्ने भन्दै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् । प्रदुषणको असरबाट जोगिन अनिवार्य मास्क लगाउनेदेखि विभिन्न उपाय अपनाउन सकिने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अनुरोध गर्नुभयो ।
उहाँका अनुसार प्रदुषण धेरै हुने बिहान बेलुका सकेसम्म घरबाट निस्कन हुँदैन भने निस्कनै परे नाकमुख छोप्नेगरि अनिवार्य मास्क लगाउनुपर्छ । यस्तै आँखा ढाक्न कालो चस्मा लगाउन उहाँको सुझाव छ । केहीदिन यता बिहान बेलुका चिसो बढेको छ ।
मौसम परिवर्तनको यो समयमा विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले खानपानमा विशेष ख्याल गर्न डाक्टरको सुझाव छ ।












