दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत बारा जान खोज्दा सिमरा विमानस्थलमा तनाव भएको छ ।
एमालेको कार्यक्रममा सहभागी हुन बारा पुग्ने थाहा पाएपछि त्यहाँको एउटा समूहले जेनजीका नाममा तोडफो र प्रदर्शन गरेको हो ।
जेन–जीका नाममा उत्रिएको यो समूहले एमालेको कार्यक्रम बिथोल्ने गरी विमानस्थलमै प्रदर्शन गरेको छ । विमानस्थलमा खटिएको प्रहरी र जेनजीका नाममा उत्रिएको उक्त समूहबीच झडपसमेत भएको छ ।
सिमरा विमानस्थलमा तनाव भएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको जहाज नै रोकिएको छ ।
बस्नेत र पोखरेल सवार भएर सिमरा जान लागेको जहाज काठमाडौंमै रोकेर यात्रुलाई प्रतिक्षालय तिर लगिएको छ ।
बस्नेत र पोखरेल बारामा आज बुधबार आयोजना हुने प्रदेशस्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन जान लागेका थिए । तर बस्नेत बारा पुग्ने थाहा भएपछि सिमरा विमानस्थलमा जेनजीका नाममा घेराउ भएको थियो ।
अहिले विमानस्थलमा सुरक्षा कडा पारिएको छ । त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो टोली तैनाथ गरिएको छ ।
यसैबिच विमानस्थल क्षेत्रमा झडप भएपछि कर्फ्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले दिउँसो साढे १२ बजेदेखि बेलुकी ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गर्नुभएको हो ।

विमानस्थल आसपास क्षेत्रमा जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो । सिमरा विमानस्थलमा एमाले नेतालाई स्वागत गर्न भेला भएका कार्यकर्ता र जेनजी समूहबीच झडप भएको हो । झडपपछि सिमरा विमानस्थलमा काठमाण्डौबाट विमान गएको छैन ।












