२०८२ माघ ७ गते बुधवार

मानव सेवा आश्रम तुलसीपुरले मनायो चौथो वार्षिकोत्सव, २७९ सडक आश्रितको उद्धार


दाङ, ४ मंसिर ।
सहयोगापेक्षी, सडक–आश्रित मानवमुक्त राष्ट्र निर्माणको अभियानमा सक्रिय मानव सेवा आश्रम तुलसीपुरले स्थापना देखि हालसम्म २७९ जना सडक आश्रित नागरिकलाई उद्धार गरेको छ । ती मध्ये ११३ जनाको पारिवारिक पुनर्मिलन भएको छ ।

उनीहरु आफ्नै घर–परिवारमा फिर्ता भएको आश्रमका प्रमुख हिरु जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आश्रममा आश्रित ४२ जनाको निधन भएको छ भने ७१ जना आश्रममै आश्रय लिएर बस्दै आएका छन् ।

आश्रमले यसै अवधिमा पुनः उद्धार कार्यक्रमअन्तर्गत २३ जनालाई दोहोर्याइ उद्धार गरेको जनाएको छ । उमेरगत विवरण अनुसार १८ वर्ष मुनिका ९ जना, १८ देखि ४० वर्षका २८ जना, ४१ देखि ६० वर्षका २३ जना र ६० वर्षभन्दा माथिका १४ जना उद्धार गरिएका छन् ।

आश्रमका प्रमुख जोशीले आश्रमलाई समुदाय, स्थानीय नेतृत्व तथा स्वयंसेवीको सहयोग भएपनि बजेट अभाव र संरचनागत समस्याका कारण सेवा विस्तारमा चुनौती रहेको बताउनुभयो ।

स्थानीय तथा प्रदेश सरकारबाट अपेक्षा गरेअनुसारको बजेट विनियोजन नहुँदा सेवा प्रभावकारी बनाउन कठिनाइ भएको उहाँको भनाइ छ । दिगो आर्थिक स्रोतको अभावका कारण सेवाको गुणस्तर एकैस्तरमा राख्न, जनशक्ति वृद्धि गर्न र भाडाको घरबाट सेवा सञ्चालन गर्दा जोखिम भएको जोशीले गुनासो गर्नुभयो ।

यसैबीच, मानव सेवा आश्रम तुलसीपुरको चौथो वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले आश्रमको मानवीय सेवाको प्रशंसा गर्दै “सडक मानवमुक्त अभियान” लाई आफूले तन, मन, वचन र कर्मबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली, तुलसीपुर मेट्रो कलेजका प्रमुख बसन्त विवस आचार्य, तुलसीपुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठ, स्वास्थ्य अधिकृत बसन्त आचार्य, राप्ती आँखा अस्पतालकी प्रमाकुमारी सापकोटा, सुष्मा जिसी, लायन्स क्लब अफ दाङ क्यापिटलका अजित खनाल, महिला उद्यमी सपना भण्डारी बस्नेत, धीरज पोखरेल, राहुल शर्मा, डम्बरबहादुर सेन, पुष्कर श्रेष्ठ, सूर्यप्रकाश चौधरी, पत्रकार एचआर मगर र केपी ओली लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस