२०८२ मङ्सिर २२ गते सोमवार

राप्ती बबई क्याम्पसले मनायो ३५ औँ स्थापना दिवस


तुलसीपुर । राप्ती बबई क्याम्पस तुलसीपुरले ३५ औं स्थापना दिवस मनाएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ कपडादेविमा रहेको क्याम्पसले आज शुक्रबार विभिन्न कार्यक्रम गरी ३५ औँ स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा क्याम्पसका प्रमुख प्रशासक गणेश पार्धेले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको हो । उहाँले क्याम्पसले सन् २०२८ भित्र गुणस्तर सुनिश्चितताको पुनः प्रमाणीकरण प्राप्त गर्ने लक्ष्य राखेको बताउनुभयो ।

उहाँले क्याम्पसका नाममा भोगचलनमा रहेको जग्गा दर्ताका लागि विशेष पहल गर्ने, विएसी, विएएलएलवि, एलएलवि जस्ता नयाँ विषय तथा कार्यक्रम सञ्चालनका लागि सम्बन्धन लिने प्रक्रिया अघि बढाउने, पाँच वर्षभित्र पाँच जना एम.फिल. तथा तीन जना पीएचडी उपाधि प्राप्तिका लागि शिक्षकलाई प्रोत्साहन गर्ने, योगदानमा आधारित उपदान कार्यविधि २०७९ लागू गर्ने र क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजनाहरू प्रस्तुत गर्नुभएको हो ।

वि.सं. २०४७ सालमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर सामुदायिक क्याम्पसका रूपमा स्थापना गरिएको राप्ती बबई क्याम्पसले २०७९ कार्तिक २९ गते विश्वविद्यालय अनुदान आयोग बाट मध्यपश्चिम क्षेत्रमै पहिलो पटक क्युएए प्रमाणपत्र प्राप्त गरेको थियो ।

दाङको पश्चिम क्षेत्रमा एक महत्वपूर्ण शैक्षिक धरोहरका रूपमा विकसित यो क्याम्पसमा हाल मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन संकायअन्तर्गत बिहानी, दिवा र सन्ध्याकालीन सत्र सञ्चालन भइरहेका छन्। कक्षा ११–१२ देखि डिग्री तहसम्म अध्यापन हुने क्याम्पसमा हाल चार हजार १५६ विद्यार्थी अध्ययनरत रहेका छन् ।

यस्तै क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष बिनिल केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उहाँले आर्थिक वर्ष २०८१–८२ मा कुल आम्दानी ८ करोड ४७ लाख ९ हजार ३७९ रुपैंया ७६ पैसा आम्दानप् रहेको जानकारी दिनुभयो । यस्तै ६ करोड ८२ लाख ४९ हजार ७२० रुपैंया खर्च भएको छ । क्याम्पसमा कुल बचत एक करोड ६४ लाख ५९ हजार ६६९ रुपैंया ७० पैंसा रहेको बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षता तथा क्याम्पसका संस्थापक अध्यक्ष एवम् पूर्व सिंचाइमन्त्री दिपक गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथी पूर्व सिंचाई मन्त्री दिपक गिरीले राप्ती बबई क्याम्पस अहिले बाह्य जिल्लाका विद्यार्थीहरुले पनि अध्ययन गर्ने शैक्षिक केन्द्र बनेको बताउनुभयो । ३५ औं स्थापना दिवस तथा २० औं साधारणसभामा प्रमुख अतिथि गिरीले विद्यार्थीहरुको उज्जवल भविष्यका लागि सरोकारवालाहरु जुनसुकै आस्था र विचारको भए पनि त्यसको प्रभाव क्याम्पसमा पर्न नहुने बताउनुभयो ।

कार्यक्रममा क्याम्पसमा संस्थापक उपाध्यक्ष ढुण्डीराज लामिछाने, पूर्व संविधानसभा सदस्य अनारकली मिया, पूर्व राष्ट्रियसभा सदस्य कोमल वली, पुर्व सांसद शंकर गिरी, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, पूर्व नगर प्रमुख धनश्याम पाण्डे, दंगिशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरी, तुलसीपुर–६ का अध्यक्ष दुजमान भण्डारी लगाएतकाले क्याम्पसले हासिल गरेको उपलब्धि, आगामी योजनाहरू तथा सामुदायिक शिक्षा विकासमा क्याम्पसको भूमिकाबारे महत्वपूर्ण धारणा व्यक्त गरेका थिए ।

क्याम्पसका उपाध्यक्ष मिनराज वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख सुर्य प्रसाद शर्माले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस