२०८२ माघ २५ गते आइतवार

नामावली सच्याउन र मतदानस्थल सार्न अनलाइनबाटै निवेदन दिन सकिने

दाङ ।  निर्वाचन आयोगले मतदाता नामावलीमा भएका त्रुटि सच्याउन र एउटै वडाभित्र मतदानस्थल परिवर्तन गर्नका लागि यही मंसिर २६ गते शुक्रबारसम्मको समयसीमा तोकेको छ ।

आयोगले दाबी विरोध प्रयोजनका लागि मतदाता नामावली सार्वजनिक गर्दै अनलाइनबाटै निवेदन दिन सकिने जनाएको छ । आयोगका अनुसार तोकिएको समयभित्र मतदाताले आफ्नो विवरणमा रहेका त्रुटि सच्याउन, नामावलीबाट नाम हटाउन तथा दाबी विरोध गर्न सक्नेछन् । आयोगका अनुसार एउटै वडाभित्र आफूलाई पायक पर्ने अर्को ठाउँमा मतदानस्थल सार्न चाहेमा पनि यसै अवधिमा निवेदन दिन सकिनेछ ।

कसैले झूटो विवरणका आधारमा नाम दर्ता गराएमा विरोधमा उजुरी दिन सकिनेछ । एउटै व्यक्तिको नाम एकभन्दा बढी ठाउँमा परेमा एक ठाउँमा मात्र राख्न आयोगको अनुरोध छ । मृतक वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन सूचना दिन पनि आयोगले भनेको छ । दाबी–विरोधका सबै प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।

मतदान स्थल छनोटका लागि अनलाइन सुविधा बढाउने उद्देश्यसहित आयोगले कतिपय मतदान स्थलहरूको पुनरावलोकन समेत गरेको छ । मतदाताले अब आफ्नो वडाभित्रका मतदान स्थलमध्ये सुविधाजनक स्थल छनोट गर्न अनलाइन प्रणालीमार्फत निवेदन दिन सक्नेछन् । आयोगले मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय र त्रुटीरहित बनाउन आम मतदाता तथा सरोकारवालाको सक्रिय सहभागिताका लागि अपिल गरेको छ ।

यस्तै निर्वाचन आयोगले समानुपातिक चुनाव प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय हिजो आयोगको कार्यालय परिसरमा स्थापना भएको हो । कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना निर्वाचित हुने व्यवस्था छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस