२०८२ फाल्गुन २९ गते शुक्रवार

तुलसीपुर–७ को प्रशासनिक भवनको उद्घाटन

दाङ, २५ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को प्रशासनिक भवनको बिहिबार उद्घाटन गरिएको छ । यसअघि पुरानो भवनबाट सेवा दिइरहेको वडाले आज नयाँ भवनबाट सेवा दिन शुरु गरेको हो ।

तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले अव ७ नम्बर वडाले पहिले जस्तै साघुँरो ठाउँबाट सेवा दिनुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले अबदेखि वडालाई प्रशासनिक काम गर्न सहज हुने बताउनुभयो ।

त्यस्तै उपमेयर स्यानी चौधरीले अब वडाले सोचेको जसरी छिटो छरितो रुपमा काम गर्ने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केशबराज पार्धेले अहिले हरेक गाउँठाउँको काम वडाले गरेर विकासका कामहरु क्रमिक रुपमा हुँदै गएको बताउनुभयो ।

उहाँले वडा अध्यक्ष रामबहादुर जिसीले आफ्नो कार्यकालमा नयाँ प्रशासनिक भवन निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो । यस्तै तुलसीपुर–३ का अध्यक्ष बिजय बिक, तुलसीपुर–१४ का अध्यक्ष शंकर कुमार खड्का लगायतले वडाको आफ्नै प्रशासनिक भवन बनेपछि सेवा प्रवाहमा सहजता हुने बताउनुभयो ।

वडा नम्बर ७ का निवर्तमान वडा अध्यक्ष टोपबहादुर केसीले अबका जनप्रतिनिधिले सुविधासम्पन्न भवनले राम्रो सेवा दिने बताउनुभयो । आफ्नो पालामा कोरोनामहामारी जस्ता रोगले अत्यन्तै कठिनाइ भोग्न परेको भन्दै अब यस्तो समय नरहेको अवस्थामा वडाले छिटो छरितो सेवा दिनुपर्ने बताउनुभयो ।

यसैगरी हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले वडा नम्बर ७ हरेक दृष्टीकोणबाट उपयुक्त स्थान भएको भन्दै नव निर्मित भवनबाट जनताले चाहे जसरी सेवा पाउने कुरामा वडाले ध्यान दिएर काम गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।

उहाँले ५ हजार सेयर सदस्य रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था, राप्ती शान्ती उद्यान, विभिन्न संघसंस्था, अब्बल विद्यालय पनि वडा नम्बर ७ मा रहेको भन्दै यस वडा हरेक क्षेत्रबाट उत्कृष्ट रहेको बताउनुभयो ।

कार्यक्रममा राप्ती लाइफ केयर अस्पताल तुलसीपुरका अध्यक्ष हरिप्रसाद रिजालले आफ्नो वडामा बनेको नयाँ भवनले वडाबासी सबै खुशी भएको बताउनुभयो । उहाँले आफ्नो अस्पताल पनि वडा नम्बर ७ को मोतीपुरमा रहेको भन्दै आजको दिनदेखि ७ नम्बरमा बसोबास गर्ने सम्पुर्ण नागरिलाई उपचारमा १० प्रतिशत छुट गर्ने बताउनुभयो ।

यस्तै मा.वि कालाखोलाका प्रधानाध्यापक राजीब ओझा, श्री गणेश सामुदायिक वनका अध्यक्ष डिल्लीराज भण्डारी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, वडा अध्यक्षलगायतले मन्तव्य राख्नुभएको हो ।

राप्ती लाइफ केयर अस्पतालको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो भने लायन्स क्लबले निशुल्क खानेपानी वितरण गरेको थियो । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष, वडा सदस्यहरु, विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ब्यक्तिलाई सम्मान गरिएको हो ।

त्यस अबसरमा हाम्रो पहुँच विद्यालय, मेरी गोल्ड, दिव्यकुञ्ज र त्रिदेब बोर्डिङ स्कुलले नृत्य प्रस्तुत गरेका हुन् । वडा अध्यक्ष रामबहादुर जिसीको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस