दाङ। राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपाली प्रमुख ठुला दलका नेताहरुको अहंकार र असक्षमताले जेनजी आन्दोलनको स्थिति आएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति दाङ—देउखुरीले बिहीबार दाङको लमहीमा आयोजना गरेको प्रचारात्मक जनसभालाई सम्बोधन गर्दै नेपालीले तीन ठुला दलका नेताहरुको लुटतन्त्रकै कारण देशमा गणतन्त्र, संविधान र राष्ट्रियता खतरामा परेमा आरोप लगाउनुभयो ।
कार्यकारी अध्यक्ष नेपालीले काँग्रेस, एमाले र माओवादीले आलोपालो बाँडीचुँडी खाने प्रवृतिले देशमा जेन्जी आन्दोलनले स्थान पाएको टिप्पणी गर्नुभयो ।
अखिल नेपाल किसान महासंघ (अफ्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले तीन ठुला राजनीतिक दलका कारण देश खरानी भएको आरोप लगाउनुभयो । केन्द्रीय अध्यक्ष रेग्मीले पछिल्लो समय तीन ठुला दलकै कारण देशमा व्यापक भ्रष्टाचार, अनिमितता र कुशासन मौलाएको भन्दै जेन्जी पुस्ता आन्दोलनमा उत्रिएको टिप्पणी गर्नुभयो ।

उहाँले भदौ २३ र २४ को जेन्जी आन्दोलनबाट भएका सम्पूर्ण घटनाको नैतिक जिम्मेवारी तत्कालिन सत्तापक्ष र प्रतिपक्ष दलले लिनुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षता एवम् राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मीको प्रमुख आतिथ्यतामा सभा गरिएको हो ।

यस्तै राजमोका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले देशको अबको भविष्यबारे चिन्ता व्यक्त गर्नुभयो । उहाँले ठुला दलका प्रवृतिकै कारण नागरिकहरुमा चरम निराशामा छाएको बताउनुभयो ।

अध्यक्ष आचार्यले सत्ता र सरकारमा बस्ने दलहरु जनताका समस्या हल गर्नेतर्फ नभई राष्ट्रघातमै लागेकै कारण पछिल्लो समय राजनिति दलहरुप्रति चरम बितृष्णा पैदा भएको बताउनुभयो ।
यस्तै पार्टीका केन्द्रीय सदस्य कमला जिसीले अब ठुला दलका नेता र नेतृत्वहरु सच्चिने बेला आएको बताउनुभयो । उहाँले पार्टी ठुलो हँुदैमा अब केही नहुने बताउँदै अहिलेको राष्ट्रिय संकटका बेला सबै राजनितिदलहरु गम्भीर हुन आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा दाङका जिल्ला उपाध्यक्ष महेश रिजालको स्वागत मन्तव्यबाट सुरू भएको सभामा उद्योग व्यापार संघ जिल्ला सचिव ठाकुर भण्डारी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैंठौंका केन्द्रीय सदस्य सेवक भट्टराई लगायतका वक्ताहरूले सम्बोधन गर्नुभएको हो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव बसन्तराज शर्मा पौडेलले गर्नुभएको हो ।
















