२०८२ माघ २५ गते आइतवार

गुरुकुल एकेडेमी तुलसीपुरमा कथा लेखन प्रशिक्षण तथा वाचन कार्यक्रम

दाङ । गुरुकुल एकेडेमी तुलसीपुरमा तीन दिने कथा लेखन प्रशिक्षण तथा वाचन कार्यक्रम एक विशेष समारोहका बीच बिहिबार सम्पन्न भएको छ ।

विद्यार्थीहरूको कल्पनाशक्ति, चिन्तन क्षमता र रचनात्मक सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।

कार्यशालामा १५० भन्दा बढी बालकथा प्रकाशित गरिसक्नुभएका चर्चित बालकथाकार विजयराज आचार्यले प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले कथाको ढाँचा, कथा निर्माणका चरण, भाषा–शैली, भाव अभिव्यक्ति लगायतका पक्षमा विद्यार्थीहरूलाई व्यावहारिक अभ्यासमार्फत दक्षता विकास गराउनुभयो ।

आचार्यले विद्यालयमा यति उत्साही र सिर्जनशील बालबालिका पाउनु आफूका लागि प्रेरणादायी भएको बताउनुभयो । तीन दिनसम्म चलेको कार्यशालामा कक्षा ७, ८ र ९ का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यशालाबाट सिर्जित कथाहरू समापन समारोहमै विद्यार्थीहरूले आत्मविश्वासका साथ वाचन गरे, जसले उपस्थित पाहुना, शिक्षक तथा अभिभावकहरूलाई प्रभावित बनाएको थियो ।

तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष दुजमान भण्डारीले विद्यालयको यो पहल प्रशंसनीय रहेको बताउँदै साहित्यले बालबालिकाको मानसिक विकासमा ठूलो योगदान गर्ने उल्लेख गर्नुभयो ।

‘विद्यार्थीहरू मोबाइल र डिजिटल उपकरणतिर आकर्षित भइरहेकाबेला गुरुकुल एकेडेमीले उनीहरूलाई लेखनजस्ता सिर्जनशील प्रवृत्तितर्फ मोड्नु अत्यन्त प्रशंसनीय काम हो ।’ उहाँले भन्नुभयो–‘साहित्य पढ्ने र लेख्ने बालबालिका भविष्यमा जिम्मेवार, संवेदनशील र समाजप्रति उत्तरदायी नागरिक बन्नेछन् । विद्यालयले निरन्तर यस्ता कार्यक्रम ल्याउनुपर्छ, वडाबाट सबै प्रकारको सहयोग गर्न तयार छौँ ।’

विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण विद्यालयमै अध्ययनरत कक्षा ८ का छात्र करण विष्टले गर्नुभएको हो ।

विद्यालयले यस्ता सिर्जनशील र सीपमूलक कार्यक्रमले विद्यार्थीहरूलाई अभिव्यक्ति, विश्लेषण र लेखन क्षमतामा दृढ बनाउने विश्वास व्यक्त गरेको छ । आगामी दिनमा पनि निरन्तर रूपमा यस्ता कार्यक्रम विस्तार गर्ने विद्यालयको तयारी रहेको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस