२०८२ माघ ८ गते बिहिवार

हाम्रो पहुँच सेकेन्डरी स्कुलमा अभिभावक शिक्षा कार्यक्रम संचालन

दाङ। दाङको तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलले अभिभावक शिक्षा कार्यक्रम संचालन गरेको छ । विद्यार्थीको शिक्षण सिकाईमा सकारात्मक प्रभाव पार्न विद्यालयले अभिभावक शिक्षा कार्यक्रम संचालन गरेको हो ।

विद्यालयले माथिल्लो कक्षाका विद्यार्थीका अभिभावकबाट कार्यक्रम शुरुवात गरेको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले जानकारी दिनुभयो । विद्यालयले शुक्रबार कक्षा ९ मा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरक्रिया गरेर विद्यार्थीको सिकाई अवस्था, प्रविधिको प्रयोग, अनुशासन लगायतका बारेमा सुझाव आदानप्रदान गरेको छ ।

यसअघि विद्यालयले कक्षा १० का विद्यार्थीका अभिभावकसंग यस्तै कार्यक्रम गरेको हो । अबको केहि दिनपछि कक्षा ८ का विद्यार्थीका अभिभावकसंग पनि अन्तरक्रिया गरेर सुझाव आदान–प्रदान गर्ने प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।

शुक्रबार भएको कार्यक्रममा अभिभावकले छोराछोरीले मोबाइल धेरै चलाउने गरेको, घरमा गृहकार्य नगर्ने गरेको, कतिपयले पढाई भन्दा अन्य क्रियाकलापमा बढी ध्यान दिने गरेको बताएका छन् ।

उपस्थित अभिभावकलाई विषयगत शिक्षकले विद्यार्थीका बानी व्यवहारबारेमा प्रष्ट पार्नुभएको हो । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्ण पोखरेलले कतिपय विद्यार्थी पढाइमा भन्दा अन्य कुरामा अब्बल हुने भएकाले अभिभावकले छोराछोरीको रुचि चाहना बुझ्‌नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस