२०८२ फाल्गुन २९ गते शुक्रवार

तुलसीपुरमा अल नेपाल सिनेमा घर आगामी दशैँसम्ममा संचालनमा आउने

दाङ, २ पुस । तुलसीपुरमा अल नेपाल सिनेमा घर निर्माण हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवागाउँमा करिब २० करोड लागतमा अल नेपाल सिनेमा घर निर्माण हुन लागेको हो ।

तुलसीपुर निवासी बसन्त लम्साल र अनिल बुढाथोकीले अल नेपाल सिनेमा घर निर्माण गर्न लाग्नुभएको हो । चलचित्र हेर्ने दर्शकका लागि उच्चस्तरिय पर्दा र साउण्ड सिस्टमसहितको अल नेपाल सिनेमा घर निर्माण हुन लागेको हो ।

सिनेमा घरमा एउटै समयमा दुई वटा सिनेमा लगाउन सकिने संचालक बसन्त लम्सालले बताउनुभयो । उहाँका अनुसार आगामी २०८३ सालको दशैँसम्म सिनेमा घर संचालनमा ल्याउने तयारी गरिएको छ । निर्माण व्यवसायीले सोहि प्रतिवद्धता अनुसार नै निर्माणको सम्झौता गरेको उहाँले बताउनुभयो ।

अल नेपाल सिनेमा घरमा दर्शकले अन्य हलभन्दा केहि सुलभ तर गुणस्तरिय पर्दामा चलचित्र हेर्न पाउने संचालक लम्सालले बताउनुभयो । अशक्त तथा अपांगता भएका व्यक्तिले पनि सहजै चलचित्र हेर्न सक्ने गरी घर निर्माण भइरहेको उहाँको भनाई छ ।

करिब ५ सय सिट क्षमताको हल निर्माण गरिने अनिल बुढाथोकीले बताउनुभयो । हल संचालकले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुनले तुलसीपुरमा सिनेमा घर संचालनमा आउनु चलचित्र दर्शकका लागि खुशीको कुरा भएको बताउनुभयो ।

उहाँले तुलसीपुरमा हल नहुँदा नहुँदा अहिले पनि नारायणपुर वा घोराही जानुपर्ने अवस्थामा अब आगामी दिनदेखि तुलसीपुरमै चलचित्र हेर्न पाउने खुशीको कुरा भएको बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले तुलसीपुरमा सिनेमा हल संचालनमा आउँदा अर्थतन्त्र थप चलायमान हुने बताउनुभयो । कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस