दाङ । दाङमा दूध बोकेको ट्याङ्कर र कार एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । लमही नगरपालिका–९ च्याउखोला नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दूध बोकेको ट्याङ्कर र कार एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ क ५४९८ नम्बरको दूध बोकेको ट्याङ्कर र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ९ च ४७९४ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा कार चालक दाङको शान्तिनगर गाउँपालिका–६ का २५ वर्षीय दिपेश भण्डारी, कारमा सवार सुर्खेत गुर्भाकोट नगरपालिका–४ का २७ वर्षीया गीता विक, गुर्भाकोट नगरपालिका–१ का ६१ वर्षीय मादले विक, दाङको तुलसीपुर उपमहानगरपालिका–९ का २५ वर्षीय कपिल केसी र बाँकेको कोहलपुर नगरपालिका–१० का ३२ वर्षीया कौसिला विक रहेका छन् ।
घाइते सबैलाई उपचारका लागि बाँके पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्याङ्कर चालक कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ का ३४ वर्षीय शिवनारायण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















