२०८३ जेष्ठ २७ गते बुधवार

दल त्याग गरेपछि एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त


दाङ ।
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको हो ।

एमालेको केन्द्रीय सचिवालयले ती जनप्रतिनिधिहरूले दल त्याग गरेको भनी गरेको निर्णयको प्रतिलिपिसहित आयोगलाई जानकारी गराएको थियो । सोही जानकारीका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) र नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगको बैठकले उनीहरू निर्वाचित भएका पदहरू रिक्त भएको निर्णय गरेको हो ।

आयोगका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका वडाध्यक्षहरूको पद रिक्त भएको छ । पदमुक्त हुनेहरूमा दाङको घोराही उपमहानगरपालिका वडा नंम्बर ४ का वडाध्यक्ष मधुसुदन शर्मा ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं. १ का कमल बहादुर बानिया र वडा नंम्बर ६ का कमल तामाङ रहेका छन् भने चम्पादेवी गाउँपालिका वडा नंम्बर ७ का वडाध्यक्ष शुरेश कुमार थापाको पद पनि रिक्त भएको छ ।

यस्तै, पाल्पाको माथागढी गाउँपालिका–१ का राज कुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका–७ का होमप्रसाद बजगाई र मोरङको लेटाङ नगरपालिका–४ का राम कुमार श्रेष्ठ मोरङकै रंगेली नगरपालिका–१ का महेश कुमार खनालको पद रिक्त भएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस