दाङ । राप्ती प्रेस मञ्चले राप्तीका सबै विद्यालयहरूमा लागूऔंषध दुर्व्यसन विरुद्ध र ट्राफिक सचेतना कार्यक्रम चलाउने भएको छ । राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चको नियमित बैठकले बढ्दो लागु औषध प्रयोग, सडक दुर्घटना तथा साइबरका घटना न्यूनीकरण गर्न राप्ती गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा लागुऔषध, ट्राफिक तथा साइबर सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने र अभियानको सुरुवात राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाँ स्थित सरस्वती आधारभूत विद्यालयबाट सुरुवात गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले एमसिए नेपालले पुर्व पश्चिम राजमार्ग अन्तरगत धानखोला लमही सडक खण्ड २ लेन बनाउने विषयमा नागरिक स्तरबाट उठेको विरोध प्रति मन्चले ऐक्यबद्धता जनाउँदै उक्त सडक खण्डलाई ४ वा ६ लेन बनाउन सम्बन्धित निकाय तथा नेपाल सरकारलाई नै दवाफ दिन प्रेस विज्ञप्ती जारी गर्ने, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने, मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने र नागरिक सम्बाद कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
यस्तै पत्रकारहरुको सिप विकासका लागि सञ्चारकर्मीहरूलाई १ दिने ग्राफिक डिजाइन तथा भिडियो सम्पादन तालिम संचालन गर्ने निर्णय गर्ने, स्वास्थ्य रिपोर्टिडाका लागि राप्ती गाउँपालिकाका सम्पूर्ण संचारकर्मीहरुलाई लक्षित गरि स्वास्थ्य पत्रकारिता तालिम संचालन गर्ने निर्णय समेत गरेको छ ।
मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, महिला उपाध्यक्ष हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सह–कोषाध्यक्ष लालमणी भुसाल, सदस्यहरू मुक्तिराम पौडेल, विदुर एमसी, किरण जिसी, मोतीराम भट्टराई, पत्रकारहरू सन्तोष थापा र ललित कुमालको विशेष उपस्थिति रहेको थियोे । बैठकको सहजीकरण मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।














