दाङ । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवमा दोस्रो दिन शनिबार दर्शकको भिड अत्याधिक देखिएको छ । महोत्सवको मुख्य आकर्षणका रूपमा रहेका चर्चित लोक दोहोरी गायक रामजी खाँड र गायिका भूमिका गिरीले स्टेज सम्हाल्ने बित्तिकै दर्शकको उत्साह थामिनसक्नु भएको थियो ।
भिड अत्याधिक हुँदा मेला व्यवस्थापन समिति र सुरक्षा निकायलाई भिड नियन्त्रण गर्न समेत हम्मे–हम्मे परेको थियो । महोत्सवमा चर्चित गायक खाँडले ‘तिम्रो त बोलिमा मन्तर मोहनी’, डाली नुघ्यो चरीले टेकेर, ‘मन परेको मान्छेको नाम दिलमै लेखिन्छ’ ‘अमिलो रसैले’ लगायतका गित गाउँदा दर्शक छमछमती नाचेका थिए । खाँडका सदाबहार लोकदोहोरी गीतहरूले दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो । दर्शकहरूले उहाँका हरेक गीतमा ताली र हुटिङका साथ साथ दिएका थिए ।
यस्तै चर्चित भूमिका गिरीले आफ्ना चर्चित गीतहरू ‘सरर आउ माया, मिनी बसमा चढेर जाउ माया’, ‘चिसोमा चिसो बतासै सरर’, ‘चोली मैलो भो’ र ‘तारासँगै जुन’ जस्ता भाकाहरू प्रस्तुत गर्दा मञ्च अगाडिको ठूलो जनसागर छमछमती नाचेको थियो ।

महोत्सवमा शनिबार चर्चित गायक खाँड र गायिका गिरी संगै, गायिका रचना चौधरी, राजमान खत्री लगायत स्थानीय कलाकारको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । कलाकारहरूले गीत मात्र गाएनन्, दाङको स्थानीय उत्पादन, संस्कृति र पर्यटनको प्रवद्र्धनमा यस्ता महोत्सवपूर्ण ले खेल्ने भूमिकाबारे समेत चर्चा गरेका थिए । शनिबार महोत्सव अवलोकनका लागि टाढा–टाढाबाट आएका थिए ।

महोत्सवमा रुकुम पश्चिमबाट आउनुभएकी टिका वलीले महोत्सवमा निकै मनोरन्जन लिएको बताउनुभयो । ‘म आजमात्रै रुकुमबाट आएको थिएँ, १०० को टिकट लिएर भित्र पसेको थिएँ, तर धेरै मनोरञ्जन लिएको छु ।’ उहाँले भन्नुभयो–‘बिगतभन्दा अहिलेको महोत्सवको सबै कुरा राम्रो लाग्यो ।’
महोत्सवमा मनोरञ्जनका लागि राखिएका भौतिक संरचनाहरूले पनि दर्शकको ध्यान खिचेका छन् । विशेषगरी लण्डन ब्रिजको नमूना र जलपरी हेर्नका लागि युवापुस्ता र बालबालिकाहरूको निकै लामो लाम देखिएको थियो ।
सल्यानबाट महोत्सव अवलोकन गर्न आउनुभएका सीता साहुले भन्नुभयो, ‘महोत्सवमा कलाकारको प्रस्तुति त राम्रो छ नै, तर यो पटक लण्डन ब्रिज र जलपरीले झनै रमाइलो बनायो । दाङमै यति राम्रो व्यवस्थापन देख्दा खुशी लाग्यो ।’ उहाँले घरबाट परिवारसहित महोत्सवमा आएर निकै मनोरञ्जन लिएको बताउनुभयो ।
महोत्सवमा राखिएका स्टलहरूमा पनि शनिबार निकै भीड रह्यो । स्थानीय कृषि उपज, हस्तकलाका सामग्री र होटल व्यवसायमा राम्रो कारोबार भएको व्यवसायीहरूले बताएका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले शनिबार दर्शकले महोत्सवस्थल भरिभराउ भएको बताउनुभयो । उहाँले शुक्रबार औपचारिकरुपमा उद्घाटन गरेपछि आजबाट मनोरञ्जनका कार्यक्रम शुरु भएको र शनिबार दर्शकको अत्याधिक उपस्थिति भएको बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालित यो महोत्सवले दाङको पर्यटन प्रवद्र्धन र स्थानीय व्यापारलाई चलायमान बनाउन ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ । महोत्सव पुस १९ गतेसम्म संचालन हुने छ ।
महोत्सवमा भोलि पनि अन्य राष्ट्रिय तथा स्थानीस्यस्तरका कलाकारहरूको प्रस्तुति रहने महासचिव भद्र बहादुर वलीले बताउनुभयो । भोलि चर्चित गायक कुलेन्द्र विश्वकर्मा, प्रेम शर्मा, गायिका सीता थापा लगायतका कलाकारको प्रस्तुति रहने महासचिव वलीले बताउनुभयो ।















