दाङ । दाङमा ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका–२ पचहिया निवासी ६० वर्षीय सहजराम अहिर र बाँकेको डुडुवा गाउँपालिका–५ बलरामपुर निवासी २४ वर्षीय अरविन्द कुमार यादव नाम बताउने, वास्तविक नाम नवीन यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार अरविन्द कुमार यादवले आफू कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश तुलसीपुर शाखा कार्यालयको प्रशासनिक अधिकृत भएको बताउँदै जोन कृषि कार्यक्रममार्फत ट्र्याक्टर, भैँसीपालन तथा गोठ सुधारको कार्यक्रम लिएर आएको भन्दै प्रलोभन देखाएका थिए ।
मालिका साइबर फोन पे र मालिका कम्युनिकेसनका ई–सेवा सञ्चालक सल्यानको कालागाउँ गाविस–७ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ३९ वर्षीय कासीराम बुढाथोकीसमेतको संलग्नतामा ११ लाख ५४ हजार ७३२ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
ठगी गरेको भनी प्राप्त जाहेरीका आधारमा प्रहरीले दुवै जनालाई असोज २५ गते पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई १५ दिन कैद सजाय भुक्तान गर्नुपर्ने फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


























